भाइ सहित बुबा र आमा लाई बाढीले घरसँगै बगाएपछि रूख समातेर बच्न सफल दिदीभाइ बने बेसहारा, यस्तो छ यीनको पीडा…

इटहरी (सुनसरी), भाद्र १ । एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन् ।

एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए । घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन् ।

बाढीले बेपत्ता निमेषको गत शनिबार जन्मदिन मनाउने तयारी थियो । त्यसका लागि बाबु राजकुमारले तयारी गरिसकेका थिए । तर बाढीले त्यो सबै चकनाचुर पारिदियो । ‘म र भाइ घर भत्केपछि रूख समाएर बाँच्यौं’, कमलाले भनिन्, ‘तर बाबा, आमा र भाइलाई बगाएर लग्यो ।’ दुवै बालबालिका अन्योलमा छन् । ‘घर पनि छैन, बाआमा नि छैनन्, कसरी त्यो ठाउँमा जानु ?’ कमलाले भक्कानिँदै भनिन् ।

कमला र निशान राति सुत्न सक्दैनन् । निशान राति ‘बाआमा, भाइ देखेँ, बाआमालाई घाउ लागेको छ’, भन्दै बर्बराउने गरेको सानीआमा सीतासन्ध्याले सुनाइन् । ‘यी दुई दिदीभाइलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भनिन् । आमा आशाको शव सोमबार मोरङको सुन्दरहरैंचामा बूढीखोलामा फेला परेको थियो । उनको सद्गत गरे पनि काजकिरिया सुरु भएको छैन । राजकुमार र निमेष अझै बेपत्ता छन् । ‘भिनाजु राजकुमार र भतिज निमेषलाई बाढीले बेपत्ता पारेकाले काजकिरिया भएको छैन,’

सीतासन्ध्याले कान्तिपुरसँग भनिन् । हालसम्म राई परिवारलाई इटहरी उपमहानगरपालिकाले किरिया खर्च १० हजार रुपैयाँ दिएको छ । अरू संघसंस्थाले सामान्य सहयोग गरेका छन् । ‘बाआमा र घर नै नरहेपछि यी दुवैको भविष्य अन्योलमा परेको छ, यिनीहरूलाई कसरी शिक्षा दिनेबारे चिन्ता लागेको छ,’ उनले भनिन्, ‘उनीहरूको पढ्नेलगायत व्यवस्था नभएसम्म मसँगै बस्नेछन् ।’ बालबालिकाकी अर्की सानीआमा सानुमाया राई शुक्रबार बेलुका भिनाजु (हाल बेपत्ता) को घरमा गएकी थिइन् । दिदीका छोरा निमेष (हाल बेपत्ता) को जन्मदिन मनाउन उनी इटहरी गैरीगाउँ गएकी थिइन् । राति बाढी आएपछि बूढीखोलामा बगिन् । ‘अन्तिम समयसम्म बाँच्ने आस गर्नुपर्छ’ भन्ने सुनेकी सानुमायाले बगेर खोलामा पुगे पनि आस मारिनन् । बाढीले बगाउँदै ल्याएका रूख, मुढा समातेर उनी करिब १३ किलोमिटर तलसम्म बग्दै गइन् । रूख समातेर बसेकै अवस्थामा शनिबार उनलाई स्थानीयले उद्धार गरे ।

‘एक्कासि भिनाजुको घरमा बाढी पसेपछि भत्कियो, सबैलाई बगाएर खोलामा पुर्‍यायो, मैले बगेकै रूख समातेँ,’ उनले भनिन्, ‘कहिले घुमाउँदै, कहिले भित्तामा पुर्‍याउँदै दुहबी लगेछ, त्यहाँ अलि ठूलो रूख समातेर अडिएँ, शनिबार बिहान मलाई स्थानीयले बाहिर निकालेर अस्पताल पुर्‍याए ।’

‘मलाई खोलाबाट बाहिर निकाल्दासम्म होस थियो, अस्पताल लग्नेबेला बेहोस भएछु,’ उनले सुनाइन्, ‘भाग्य र आँटले बाँचेँ ।’ उनले पानीमा डुब्दा हातखुट्टा चलाउनुपर्ने सुनेकाले त्यसै गरेको बताइन् । हाल उनी बिरामी अवस्थामा दिदी सीतासन्ध्याका घरमा बसेकी छन् ।

सुनसरी दुहबी इलाका प्रहरी कार्यालयका निरीक्षक शैलेश न्यौपानेका अनुसार इटहरीको गैरीगाउँबाट बग्दै आएकी सानुमाया दुहबी ४ को पारिपट्टि मोरङको निमुवाबाट स्थानीयले उद्धार गरी दुहबीको सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका थिए । ‘प्रहरीलाई खबर भएपछि हामीले सानुमायाबाटै उनका मामाको फोन नम्बर लिएर जिम्मा लगायौं, त्यसपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो,’ उनले भने । भाग्यले बाँचेकी अर्की महिला हुन् पवित्रा लिम्बू । उनी माइतीघर मोरङ पथरी नगएको भए ज्यान खतरामा पर्न सक्थ्यो ।

इटहरी गैरीगाउँमा रहेको उनको घरमा भाडामा बस्नेमध्ये दुई जनाको ज्यान गइसकेको छ । एक जनाको घरको टिनको छानो खोलेर जीवितै उद्धार गरिएको थियो । ‘म माइतीघर गएकाले भाग्यले बाँचेको हो,’ उनले भनिन्, ‘श्रीमान् विदेश र बच्चा सानो भएकाले केही दिनअघि माइती गएकी थिएँ । बाढीले घर बगाएको मैले राति दुई बजे थाहा पाएँ ।’

– प्रश्तुत खबर – गंगा बीसी, माधव घिमिरे, -वेदराज पौडेल ले कान्तिपुर दैनिकको प्रिन्टसंसकरणको लागि लेखेका हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।