संविधान संशोधन असफल भएपछि राजपा नेता एमालेप्रति आक्रोशित, यसरी लिदैछन् एक्सन

काठमाडौं, ६ भाद्र । संविधान संशोधन विधेयकमा दुई तिहाई बहुमत नपुगेर असफल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु एमालेप्रति आक्रोशित बनेका छन् । तर, खेलको नियमलाई स्वीकार गर्ने राजपा नेताको प्रारम्भिक प्रतिक्रिया छ ।

संविधान संशोधनको विपक्षमा मतदान गरेर एमालेले आफूलाई मधेस विरोधीमात्रै होइन, परिवर्तन विरोधी र राष्ट्रिय एकताकै विरोधी प्रमाणित गरेको राजपा नेताको तर्क छ ।

राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने- ‘एमाले संविधान संशोधनको विपक्षमा गयो, यसले ऊ मधेस विरोधीमात्रै होइन, जनजाति, दलित लगायत सीमान्तीकृत समुदायको पक्षमा नरहेको पुष्टि भएको छ ।’

सीमान्तीकृत समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन कसले चाहेको छैन भन्ने कुरा प्रमाणित भएको भन्दै यादवले एमालेप्रति आक्रोश पोखे । उनले थपेे- ‘एमाले मधेसविरोधी मात्रै होइन, परिवर्तनविरोधी हो ।’

संविधान संशोधन प्रस्ताव पारित भएको भए यसले सबै जनतालाई आपसमा जोडेर एक ढिक्का बनाउने यादवले दाबी गरे । उनले भने, यसले मुलुकलाई ध्रुवीकरण गरेको छ । विधेयक असफल भएपछि राजपा अब यसबारे फेरि एकपटक सोच्न बाध्य भएको छ ।’

संविधान संशोधनसम्बन्धी भएको मतदानमा राजपाले पनि भाग लिएको हुनाले सोही अनुसार पार्टी अघि बढ्ने यादवको प्रतिक्रिया छ । अब हुने तेस्रो चरणको चुनावमा भाग लिने संकेत गर्दै यादवले भने- ‘खेलको नियममा भाग लिएपछि हामी त्यही अनुसार अगाडि बढ्छौं । हामी अब यो विषयलाई लिएर जनतामा जान्छौं ।’

संविधान संशोधन विधेयकमाथि भोटिङ हुँदा संसदमा उपस्थित भएका राजपा अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले परिणाम स्वीकार गर्ने बताए । उनले भने- पास नै हुनुपर्ने थियो तर, हुन सकेन । प्रक्रियामा सहभागी भएपछि परिणामलाई स्वीकार गर्छौं ।’

अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले भने बाढीबाट पीडित मधेसी जनतामाथि अर्को पीडा थपिएको प्रतिक्रिया दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।