ओली र थापाको पुत्ला जलाउँदै राजपा, वाढीले क्षति पुर्याएको बाँध बनाउँदै युवा !
राजविराज, भदौ ६ । लगातारको वर्षाले सप्तरीको राजविराज पसेको खाँडो खोलाको वाढीले क्षति पुर्याएको भलुवाही खोलाको डिललाई मर्मत गर्न युवा संघ नेपालले मंगलबार सुरु गरेको छ ।
राजविराज ४ स्थित भलुवाही खोलाको पुलनजिक बाढीले बनाएको खाल्डो पुर्ने काममा युवा संघ, नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४० जनाको टोलीले काम सुरु गरेको नेकपा (एमाले) का उपसचिव प्रतापनारायण चौधरीले जानकारी दिए ।
युवा संघको टोली बालुवा, बोरासहित बेल्चा, कोदालो लिएर कटान स्थल पुगेपछि स्थानीयवासी समेत मर्मत कार्यमा जुटेको स्थानीय हजरत अलीले बताए । राहत सामाग्री वितरणपछि युवा संघको टोली कटान गरेको स्थलमा मर्मतको काममा जुटेको हो ।
त्यस्तै, सो टोली सिरहा रोडको मुतनी नदीले क्षति पुर्याएका विभिन्न स्थानमा समेत मर्मत कार्यमा जुटने संघका उपाध्यक्ष रमेश पौडेलले जनाए । साउन २६ गतेदेखि खाँडो, महुली, जीता, मुतनीलगायतका खोलामा आएको बाढीले सदरमुकाम राजविराजसहित दर्जनौ गाउँ डुबानमा परेका थिए। । राजविराज वडा नम्बर २ र वडा नम्बर ४ जोडने भलुवाही खोलाको पुलमा पुर्याएको क्षतिले आवतजावत अवरुद्ध भएको र खोलाको डिल कटानले आसपासको वस्ती जोखिममा परेको स्थानीय नागेश्वर यादवले बताए ।
युवा संघले बाढीले निधन भएका चार जनाको परिवारलाई राहत स्वरुप नगद ११ हजार र लत्ताकपडा, खाद्यान्न सामाग्री प्रदान गरेको छ । अध्यक्ष पहारीले राहत नपुगेको प्रभावित स्थानमा चामल, दाल, कपडा, जस्तापाता र औषधि वितरणलाई निरन्तरता दिने बताए।
टोलीमा अध्यक्ष पहारी उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मन्जु यादव र राजेश साह, सचिवालय सदस्य प्रभातविक्रम कटुवाल, निरेशलाल सिंह, केन्द्रीय सदस्य सीता सुवेदीलगायत छन्।
ओली र थापाको पुतला जलाए

युवा संघका नेताले बाढीले भत्काएको पुल निर्माण गर्दै गर्दा मधेसी युवा भने व्यवस्थापिका संसदबाट संविधानको दोस्रो संशोधन प्रस्ताव अस्वीकृत भएपछि आक्रोशित छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरुले राजविराजमा मंगलबार एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापाको पुतला जलाएका छन् ।
संसदमा सोमबार भएको मतदानमा संशोधनको विपक्षमा मतदान गरेको एमाले र राप्रपाविरुद्ध नाराबाजी गर्दै उत्रिएका राजपाका कार्यकर्ताले सहिद दशन चोकमा पुतला जलाउनुका साथै कोणसभा गरेका हुन्।
संविधान संशोधनको पक्षमा तीन सय ४७ र विपक्षमा दुई सय ६ मत परेपछि दोस्रो संशोधन प्रस्ताव दुई तिहाई बहुमत नपुगेका कारण अस्वीकृत भएको थियो। युवा संघमा संलग्न हिमाल, पहाड र तराईकै युवा बाढीले भत्काएको पुल निर्माणमा लाग्दा स्थानीय राजपा कार्यकर्ता पुतला जलाउन सक्रिय भएका हुन् । – अन्नपुर्ण पोष्टबाट ।


