‘स्टेपिङ स्टोनका सञ्चालक अंगद सिंहले यसरी झुक्याए प्रचण्डपुत्र प्रकाशलाई…’

काठमाडौं । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरन्यास्नल प्रि–स्कुलले आफ्नो विद्यालय सञ्चालन गर्ने नाममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका उच्चपदस्थ नेता, उच्चपदस्थ प्रहरी अधिकारी, प्रशासक र चर्चित उद्यमीलाई मोहरा बनाइरहेको पाइएको छ ।

सो स्कुलले आफ्नो स्कुलको बारेमा बुझ्न चाहने हरेक व्यक्तिलाई पूर्वप्रधानमन्त्री प्रचण्डका नाति अर्थात प्रकाश दाहालका २८ महिने छोरा, उच्चपदस्थ प्रहरी अधिकारी, प्रशासकका छोरा पनि अध्ययन गर्ने भन्दै स्कुलको प्रभाव देखाउन खोज्ने गर्दै आएको छ । चर्चित व्यक्तिका परिवार, आफन्तको नाम भजाएर स्कुलको विज्ञापन गर्न स्कुल सञ्चालकले मातहतका सबै कर्मचारीलाई निर्देशन नै दिएका छन् ।

सो स्कुलका सञ्चालक भारतीय नागरिक अंगद सिंह हुन् । प्रितम सिंहका नाति अंगद अव्यावहारिक र उदण्ड स्वभावका मानिन्छन् । यद्यपि, उनका हजुरबा प्रितम र बाबु भने प्रतिष्ठित व्यक्तिका रुपमा चिनिने गरिन्छ ।छलकपट गर्न र आफ्नो स्वार्थपूर्ति गर्न जस्तोसुकै काम पनि गर्न पछि नपर्ने अंगद सिंह जो कोहीलाई मीठो बोलीले तुरुन्तै प्रभावमा पार्न सक्छन् । उनी जो कोहीलाई आफू भारतीय दूतावासको खास मान्छे हो र जस्तोसुकै काम पनि गर्न सक्छु भन्दै आफ्नो विज्ञापन आफै गर्न खोज्छन् । उनी आफूमा सरकार बनाउनेदेखि ढाल्नेसम्मको शक्ति रहेको भन्न पनि पछि पर्दैनन् ।

आफ्नो स्कुलमा कुनै पनि कार्यक्रम भएको अवस्थामा उनी राजनीतिक दल, उच्चपदस्थ प्रहरी अधिकारी, प्रशासक, उद्योगी व्यवसायीलाई आमन्त्रणसमेत गर्छन् । र, तस्बिर खिचेर स्कुलका भित्तामा राख्ने गर्छन् । कतिपय तस्बिर त उनले आफ्नो फेसबुकमा पनि राखेका छन् । यी र यस्तै तस्बिर देखाएर उनी आफ्नो सम्बन्ध सबैसँग भएको देखाउन खोज्छन् । र, आफ्नो स्वार्थपूर्ति गर्छन् ।

सो स्कुलका सञ्चालक अंगद सिंहले आफ्नो र स्कुलको फेसबुकमा १० बर्से सशस्त्र द्वन्द्व गरेका र पछि मुलुककै प्रधानमन्त्रीसमेत भएका प्रचण्डका नाति आफ्नो स्कुलमा पढ्ने भन्दै बच्चाको तस्बिरसमेत राखेका छन् । वास्तवमा सुरक्षाको हिसावले पनि यो तस्बिर राख्न उचित हुँदैन । किनभने माओवादी युद्धका क्रममा १७ हजार बढीको ज्यान गएको छ । कतिपय बेपत्ता भएका छन् । कयौं घाइते र विस्थापित भएका छन् । प्रतिशोधको भावना जाग्दा जे पनि हुनसक्ने अवस्थालाई अंगद सिंहले बुझ्न सकेनन् । उनले यसैलाई व्यापारको माध्यम बनाए ।वास्तवमा प्रचण्डका नाति, प्रकाश दाहालका २८ महिने छोरा प्रणव दाहाल सो स्कुलमा भर्नासमेत नभएको प्रकाश दाहाल दाबी गर्छन् । आफ्नो छोरा चार महिनादेखि आमासँगै कञ्चनपुरमै रहेको प्रकाश बताउँछन् । तर सो स्कुलका कर्मचारी भने प्रणव दाहाल अझै पनि पढिरहेको प्रचार प्रसार गर्छन् ।

प्रकाश भन्छन्, ‘अंगद सिंह र मेरो राम्रो चिनाजानी छ । एक पटक अंगदले मेरो स्कुल हेर्न बोलाए । म श्रीमती बिना र छोरा प्रणवलाई लिएर स्कुल हेर्न गएँ । त्यही बेला मेरो छोरा स्कुल प्रांगणमा खेल्न थाल्यो । हामीले त्यहाँ फोटोहरु पनि खिच्यौं । खास कुरा यही नै हो । तर मेरो छोराको फोटो राखेर, हाम्रो नाम बेचेर बदमासी गर्ने काम भइरहेको मैले सुनेको छु ।’तर सो स्कुलका कर्मचारी अझै भन्छन्, ‘प्रचण्डका नाति त हाम्रोमा पढ्छन्, १५ महिनाको हुँदादेखि प्रधानमन्त्रीजीको नाति हाम्रोमा छन्, तपाईहरुले आफ्नो बच्चाको कुनै चिन्ता लिनु पर्दैन ।’ अझै स्कुलका कर्मचारीहरु त प्रकाशपत्नी बिना मगर आफ्नो छोरालाई पजेरोमा लिएर आउने बताउँछन् ।स्कुलले यसो भने पनि एउटा नाबालकका लागि लाजिम्पाटदेखि ललितपुरसम्मको यात्रा सहज देखिँदैन । यसबाट पनि स्कुल सञ्चालक अंगद सिंहको बद्मासी पुष्टि हुन्छ ।

अंगद सिंह यतिसम्म बठ्याईं गर्छन् कि कुनै पनि व्यक्ति शक्तिमा पुग्यो भने उनी चाकडी गर्न तुरुन्तै पुग्छन् । र, तस्बिर खिचेर पोष्ट गर्छन् । यसको अर्थ भनेको सबैसँग आफ्नो सम्बन्ध रहेको देखाउन खोज्नु अनि फाइदा लिनु । उनी पूर्वगृहमन्त्री विमलेन्द्र निधि, गगन थापासँग आफ्नो अति नै राम्रो सम्बन्ध रहेको दाबी पनि गर्छन् । उनले आफ्नो फेसबुकमा प्रचण्डकी छोरी रेणु दाहाल, गगन थापासँग बसेको फोटो पनि शेयर गरेका छन् ।हाल काठमाडौं प्रहरी प्रमुखमा रवीन्द्रसिंह धानुक छन् । धानुक काठमाडौं प्रमुख भएकोमा उनले फेसबुकबाटै बधाइसमेत दिएका छन् ।

– नेपालआजबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।