काँग्रेस बाजुराका सभापति रुँदै-रुँदै एमालेमा प्रवेश ! यस्तो छ कारण र माहोल…

कर्ण पनि भक्कानिए

बाजुरा, ८ कात्तिक । २५ वर्ष नेपाली काँग्रेस जिल्ला समिति बाजुराको सभापति बनेका मनबहादुर रावल बाम गठबन्धनलाई सघाउने भन्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । काँग्रेससँग कुनै सम्बन्ध नरहेको प्रेस विज्ञप्ती सहित रावल एमालेमा प्रवेश गरेका हुन् ।

२०३६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रावललाई बाम गठबन्धनले औपचारिक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन् । रावल २०४७ सालदेखि २०७२ सालसम्म बाजुरा काँग्रेसको सभापति भएर काम गरेका छन् ।

पार्टी विभाजित हुँदा बीचमा ८ महिना बाहेक २५ वर्ष सभापति बनेका रावलले पार्टी गतिविधि र नेतृत्वको उपेक्षीत व्यवाहार चित्त नबझुी एमालेमा प्रवेश गरेको बताएका छन् । रावललाई बागाजागा सहित एमाले माओवादी केन्द्रले भव्य स्वागतका साथ पार्टी प्रवेश गराएका हुन् ।

रावललाई एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, माओवादी केन्द्रका नेता सहदेव बोगटी सहीत नेताहरुले स्वागत गरेका छन् । रावल २५ वर्ष काँग्रेसको सभापति सँगै २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमाले नेता कर्णबहादुर थापासँग चुनाव लडेका थिए ।

थापासँग ४ हजार बढी मत अन्तरले पराजित हुँदा काँग्रेसले आर्थिक लोभमा चुनाव हारेको आरोप लगाएको गुनासो रावलको थियो । उनले १८ हजार १ सय मत ल्याएका थिए । रावलले टिकट पाएपछि काँग्रेस नेता पदम शाही माओवादीमा प्रवेश गरेका थिए । शाही यो चुनावमा काँग्रेस प्रदेश सभा निर्वाचन ख बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् ।

उनलाई सभापतिमा बाहल रहेकै कार्यकालमा महाधिवेशन प्रतिनिधि सदस्यका लागि समेत काँग्रेस भित्र हार बेहोरेका थिए । कार्यकर्ताको अपार माया र सम्मान रहँदा पनि नेतृत्व तहका नेताहरुको हेपाई र विभेदकारी नीति मन नपरेको बताए । रावल एमालेमा प्रवेश गरेपछि काँग्रेसमा हलचल पैदा भएको छ ।

बाम गठबन्धनले जित असहज बनिरहेको बेला रावलको प्रवेशले थप उत्साहीत बनाएको छ । यता काँग्रेस भित्र भने नराम्रो धक्का लाग्ने देखिएको छ । सामाजिक सञ्जालमा काँग्रेस नेताहरुले आक्रोश पोखेका छन् ।

रावल रुँदै प्रवेश गरे

काँग्रेस पूर्वपार्टी सभापति मनबहादुर रावलले काँग्रेस छोड्दाको पीडा सबै माझ व्यक्त गरेका छन् । काँग्रेस भित्र घर परिवार र आफन्त भन्दा नजिक र बढी माया गर्ने शुभेच्छुक कार्यकर्तालाई छोडेर आउनु परेकोमा रुदै दुःख पोखेका छन् ।

मेरो समर्थनमा रहेका कार्यकर्तालाई काँग्रेस छोड्न मेरो दबाब रहने छैन् । मैले चार दशक लामो काँग्रेस राजनीतिबाट आरोप, लाञ्छना र विभेद मात्र पाएँ, मैले बनाएका कार्यकर्तालाई त्यसो नहोस भन्ने सुझाव छ, उनले भने ।

बाम गठबन्धन र एमालेमा स्वार्थका लागि नभई राष्ट्र निर्माणका लागि गरिएको महा अभियानमा एक्येवद्धता जनाउन आएको बताए । छोटो समय बोलेका रावलले काँग्रेस भित्र नीतिगत विचलन भई व्यक्ति र समूह हाबी हुदै गएको बताए ।

कर्ण थापा पनि भक्कानिए

नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य ७ नम्बर प्रदेशका सहसंयाजक कर्णबहादुर रावल बोलिरहँदा भक्कानिएका थिए । काँग्रेस एमाले भएर धेरै लड्यौ., काटामार भयो, दाजु भाईको नाम समेत थिएन, रावलले भनिरहँदा थापा आँशु पुच्छ्दै भक्कानिएका थिए ।

थापा र रावल नातामा दाजुभाइ हुन् । मनबहादुर रावलको फूपू कर्णबहादुर थापाको आमा हुन् । प्रवेश कार्यक्रमलाई संवोधन गर्दै थापाले जितका लागि मात्र नभई राष्ट्र बनाउने अभियानको सारथी बन्न बाम गठबन्धनमा प्रवेश गरेको बताए ।

रावलको व्यक्तित्व र राजनीतिक पृष्ठभूमि आफैमा इतिहास र पाठशाला भएको बताउँदै एमालेले सबैलाई उत्तिकै स्थान र अवसर प्रदान गर्ने बताए । माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटीले काँग्रेसले व्यक्ति, परिवार र आफन्त भन्दा माथिको राजनीति गर्न हैसियत नै नराख्ने बताए । उनले रावलको प्रवेशले बाम गठबन्धन बाजुराले अभिभावक पाएको धारणा राखे ।

साभार : कान्तिपुर प्लास ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।