अब हठ त्यागेर चुनावमा लागौं : नेम्वाङ्ग
धनकुटा खबर / फागुन १६ । पूर्व सभामुख तथा नेकपा एमाले स्थाई कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले असन्तुष्ट दलहरुलाई आफ्नो हठ त्यागेर स्थानिय चुनावमा लाग्न आग्रह गरेका छन् ।
नेकपा एमाले धनकुटाले आयोजना गरेको ४ महिले संबिधान कार्यान्वयन अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङ्गले यस्तो बताएका हुन् ।
संविधान संशोधन गर्न माग गर्ने मधेशवादी दलहरु र राज्य पुनरसंरचनाको सिमाङ्कनमा असहमति राख्ने दलहरु प्रति लक्षित गरेर उनले यस्तो बताएका हुन् ।

‘सबै दलहरुले आ–आफ्नो निजी स्वार्थ त्यागेकै कारण संविधान बनेको हो’ उनले भने,‘त्यसैले चुनाव हुने संघारमा माग राखेर अबरोध गर्ने दलहरुले पनि आफ्नो जिद्धि त्याग्नु पर्छ ।’
७० बर्ष पछि ५ बर्ष ८ महिना लगाएर ३१ दलले बनाएको वर्तमान संबिधान बिश्वकै समावेशी बनेकोले यसको कार्यान्वयन सबैको दायित्व भएको नेम्वाङ्ग भनाई थियो ।
धनकुटाको ७ स्थानिय तह मध्ये चौबिसे र साँगुरी गढी गाउँपालिकामा चलाएको उक्त अभियान संगै समापन कार्यक्रममा नेकपा एमाले धनकुटा स्थानिय निकायको चुनावमा होमिएको पार्टी अध्यक्ष राजेन्द्र राईले घोषणा गरेका छन् ।


