स्थानिय तहको निर्वाचनका लागि धनकुटाबाट १७ राजनैतिक दल चुनावी मैदानमा !
करिब एक लाख मतदाताले मतदान गर्न पाउने
धनकुटा खबर । करिव दुई दशकपछि हुन लागेको स्थानियतहको निर्वाचनमा धनकुटाबाट करिब एक लाख मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा धनकुटाबाट ९४ हजार तीन सय ६० जना मतदाताहरुको सुचि तयार भएको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार मतदाता मध्ये ४६ हजार १८ जना पुरुष र ४६ तीन सय ६२ जना महिला रहेका छन् । संकलित तथ्यांकमा तेस्रो लिंगी र समलिंगीहरु भने रहेका छैनन् । २०७० सालको निर्वाचन अघि संकलन गरिएको ९४ हजार तीन सय ६० जनाको सुचि तयार भएको हो भने २०७० पश्चात विभिन्न समयमा संकलन गरिएका मतदाताहरुको संख्या भने अध्यावधिक गर्ने कार्य जारी रहेकाले संख्यामा केही बढी हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहले जानकारी दिए ।
पछिल्लो पुनर्सरचना अनुसार साविक दुई नगरपालिका र २८ गाविस रहेको धनकुटा जिल्लामा नयाँ संरचना अनुसार ३ नगरपालिका र ४ गाउँपालिकाको सिमा निर्धारण गरिएको छ । जसमा पुरानो धनकुटा नगरपालिका यथावत राखिएको छ भने चानुवा, डाँडागाउँ, लेगुवा, अर्खौलेजितपुर, मारेककटहरे र मूर्तिढुङ्गा गाविस मिलाएर महालक्ष्मी नगरपालिका र पुरानो पाख्रीबास नगरपालिका र चुङ्माङ गाविस मिलाएर पाख्रिवास नगरपालिका बनाइने भएको छ ।

त्यस्तै पुरानो संरचना अनुसार डाँडाबजार, बुढीमोरङ, खुवाफोक, फाक्सिब, भेडेटार, महाभारत र आहाले गाविस मिलाएर साँघुरीगढी गाउँपालिका बनाइने, छ नं बुधबारे, मुढेबास, कुरुलेतेनुपा, बसन्तटार, राजारानी, मौनाबुधुक र बोधे गाविस मिलाएर चौबीसे गाउँपालिका बनाइने भएको छ भने छिन्ताङ, आँखिसल्ला र खोकु गाविस मिलाएर खाल्सा शहिदभूमि गाउँपालिका बनाइने र ताङ्खुवा, तेलिया, परेवादिन र हात्तीखर्क गाविस मिलाएर छथर जोरपाटी गाउँपालिका बनाउने राजनैतिक दलहरु विच सहमति भएर स्थानिय तह पुनर्संरचना आयोगमा पेश भइसकेको स्थानिय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए ।
नयाँ संरचना अनुसार निर्वाचन हुने भएपछि सोही अनुसार मतदाताहरुको तयारी पनि गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउने धनकुटाका मतदाता मध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा छन् । कार्यालय प्रमुख शाहका अनुसार धनकुटामा १७ हजार सात सय ४२ जना मतदाता छन । जसमध्ये ९ हजार २ सय २३ महिला र ८ हजार ५ सय १९ पूरुष रहेका छन् भने महालक्ष्मी नगरपालिकामा १५ हजार ५ सय ५३ जना मतदाता छन् । जसमा ७ हजार ८ सय ८९ महिला र ७ हजार ६ सय ६४ पूरुष रहेका तथा पाख्रिवास नगरपालिकामा ६ हजार ९ सय ६६ जना महिला र ६ हजार ७ सय १४ जना पूरुष गरि १३ हजार ६ सय ८० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरि साँगुरीगढी गाउँपालिकामा १३ हजार ६ सय ८७ मतदाता रहेकोमा तीमध्ये ६ हजार ९ सय ९४ जना महिला र ६ हजार ६ सय ९३ जना पूरुष छन भने चौविसे गाउँपालिकामा १२ हजार ७२ मतदाता रहेका छन जसमा ६ हजार २ सय ३६ महिला र ५ हजार ८ सय ३६ पूरुष रहेका छन । खाल्सा शहिद भूमि गाउँपालिकामा ११ हजार मतदाता रहेकोमा तीमध्ये ५ हजार ५ सय १५ महिला र ५ हजार ४ सय ८५ पूरुष छन् भने छथर जोरपाटी गाउँपालिकामा १० हजार ६ सय ७३ मतदाता रहेका छन जसमा ५ हजार ५ सय ३९ महिला र ५ हजार १ सय ३४ पूरुष रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहले जानकारी दिए ।
निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावली मध्ये फागुन ९ गतेसम्म १८ वर्ष पुगेका नागरिकले मात्र मतदानमा सहभागिता जनाउन पाउँछन् । १६ वर्ष दखि नै नामावली संकलन गरेपनि निर्वाचन सहभागिता जनाउन १८ वर्ष पुग्नु पर्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहका अनुसार निर्वाचनका लागि धनकुटा जिल्लामा तयारी तीव्र पारिएको छ । उनका अनुसार चुनावका लागि ४ सय १३ मतपेटिका तयारी अवस्थामा छन् भने केही मतपेटिका पनि ल्याउने तयारी भइरहको छ । निर्वाचनमा परिचालित हुने जनशक्ति पनि तयारी अवस्थामा राख्न सुरु गरिएको उनले बताए ।
गत २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला धनकुटामा एक सय १० स्थानमा एक सय ३८ मतदान केन्द्र बनाइएको थियो । स्थानिय तहको निर्वाचन गर्दा नयाँ संरचनामा गर्नुपर्ने भएका कारण केन्द्रको संख्या घटबढ हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहको भनाइ छ ।
यसैविच जिल्ला निर्वाचन कार्यालय धनकुटामा स्थानिय तहको चुनावको लागि १७ वटा राजनीतिक दल दर्ता चएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, संघिय समाजवादी फोरम नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दल दर्ता भएका छन् । यस्तै नेपाली कांग्रेश, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनजागरण पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले–जनसमाजवादी), नेपाल कम्युनिष्ट पार्टी (एमाले), खुम्वुवान राष्ट्रिय मोर्चा नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसन नाम रहेका राजनीतिक दल पनि दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय धनकुटामा गएको माघ १७ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय रहेको थियो ।


