आपराधिक लाभ तथा बालयौन दुरुपयोग कसुरमा संलग्न चार जना पक्राउ
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा एक युवक र बालिकालाई ब्ल्याकमेल गरी रकम असुल्नुका साथै बाल यौन दुरुपयोग गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक ४ गते राति करिब ८ बजे दशैँ मेला हेरेर बसैलातर्फ पैदल हिँडिरहेका युवक र बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटोमा रोकेर ब्ल्याकमेल गरेको थियो।
प्रहरीले घटनाबारे सूचना पाएपछि अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कात्तिक ५ गते बिहान करिब ३ बजे घटनामा संलग्न रहेको आरोपमा चार जनालाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले युवक र बालिकालाई घेरा हालेर भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिँदै उनीहरूले पीडितका अभिभावकलाई फोन गरेर रकम मागेको खुलेको छ। धम्की र बार्गेनिङमार्फत मोबाइल बैंकिङबाट ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाइएको प्रहरीको भनाइ छ।
त्यसैगरी, आरोपितहरूले बालिकाको संवेदनशील अङ्गमा गलत मनसायले छोएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।
प्रहरीले उनीहरूबाट ज १२ प ७७७ र मधेश प्रदेश ०२–०९ प २९०२ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।


