ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, एक जना पक्राउ
रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ः३० बजे स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेका बेला सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा शुक्रबार राति करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनको मानसिक अवस्था ठीक नभएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


