नेपाली मूलकी महिलाको दिल्लीमा सामूहिक बलात्कार
काठमाडौं, चैत १ । दिल्लीमा नेपाली मुलकी महिलाको सामूहिक बलात्कार नयाँ दिल्लीको पाण्डव नगर इलाकामा एक नेपाली महिलामाथि सामुहिक बलात्कार भएको छ। ३० वर्षीया नेपाली महिलामाथि पाँच जनाले सामुहिक बलात्कार गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। पीडित महिलाले घरको एकतलाबाट हामफालेर आफ्नो ज्यान बचाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
नेपाली महिलालाई बलात्कार गर्ने पाँचै जनालाई दिल्ली पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै कल सेन्टरमा काम गर्ने कर्मचारी हुन्। प्रहरीका अनुसार अइतबार विहान ५ बजेर ४५ मिनेटमा प्रहरीलाई एक महिला घरबाट हामफालेको सूचना प्राप्त भएको थियो। सूचना मिल्ने वित्तिकै प्रहरीले घाइते अवस्थामा रहेकी नेपाली महिलालाई लालबहादुर शास्त्री अस्पताल पुर्याएका थिए। घाइते महिलाको खुट्टामा गम्भीर चोट लागेको र उनको उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
नसामा रहेका पाँचै जनाले नेपाली युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडित महिलाले बताएकी छन्। बलात्कारपछि उनीहरुले नांगै महिलालाई बाथरुममा बन्द गरेका थिए। दुई बच्चाका आमा रहेकी नेपाली महिलाका साथी नविन देशमुखले घुम्न जाने भन्दै पाण्डव नगरस्थित आफ्नो फ्लाटमा बोलाएका थिए। सो फ्लाटमा अन्य चार जना पहिलादेखि नै रहेका र उनीहरुले नेपाली महिलालाई बन्धक बनाएको संचारमाध्यमले उल्लेख गरेका छन्।

ज्यान बचाउन पीडित महिलाले बाथरुमको झ्यालको ढोकाबाट हामफालेकी थिइन्। स्थानीयले नांगै अवस्थामा महिलालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। पीडित महिलाले हामफालेको दृष्य सिसिटिभि क्यामेरामा पनि कैद भएको संचारमाध्यमले उल्लेख गरेका छन्।


