प्रतिफल दिने आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको आग्रह

काठमाडौँ, ६ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिफल दिने गरी सरकारले जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको बताउनुभएको छ ।

दक्षिण कोरियामा आज नेपाली समुदायसँग गरिएको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको हितमा नै ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि सारिएको बताउनुभयो ।

छिट्टै प्रतिफल दिने आयोजनामा लगानी गर्न सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीलाई लगानीका लागि आग्रह गरिएको उल्लेख गर्दै उहाँले सुनकोसी, नलसिंहगाड, शारदा, माथिल्लो अरुण जस्ता आयोजनामा लगानी गर्न पे्ररित गरिएको स्पष्ट गर्नुभयो ।

सरकारले प्रतिफल दिने र नाफाको सुनिश्चितता हुने आयोजनामा लगानीका लागि नेपाली नागरिकलाई आग्रह गरिएको र सरकारले प्रष्ट योजनाका साथ काम गर्नेमा जोड दिनुभयो । जलविद्युत् आयोजनालाई नै अगाडि बढाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी जनताको लगानी’सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै स्पष्ट भएर लगानी गर्न आग्रह गर्नुभयो ।

योजनाबद्ध तवरले जलविद्युत् उत्पादनको प्रक्रिया सुरु गर्न सरकारले विद्युत् उत्पादन कम्पनी स्थापना गरेको तथा प्रसारण लाइन निर्माणलाई युद्धस्तरमा अगाडि बढाउन प्रसारण लाइन कम्पनी पनि स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले विद्युत्भार कटौतीको अन्त्य गरेर नेपाली माझ एउटा उत्साह एवम् सकारात्मक वातावरण तयार पारिएको भन्दै एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुने भएकाले मन खोलेर लगानी गर्न नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सरकारले पहिलो चरणमा स्वदेशी लगानीलाई नै प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले ठूला आयोजनामा विदेशी लगानी आकर्षित गरिने र मुलुकलाई सम्पन्न बनाइने स्पष्ट पार्नुभयो ।

कस्तुरीले आफ्नै सुगन्ध खोज्न दौडिएजस्तै साधन र स्रोत भएर पनि सही उपयोग गर्न नसक्दा नेपाल पछाडि परेको भन्दै उहाँले राजनीतिक नेतृत्वले ध्यान दिने हो भने आगामी १५ वर्षमा उल्लेख्य सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकले लगानीका विभिन्न आयाम, लगानी प्रक्रिया एवम् प्रतिफलको बारेमा मन्त्री शर्मासँग जिज्ञासा राखेको मन्त्री शर्माका निजी सचिव कृष्ण केसीले जानकारी दिनुभयो ।

मन्त्री शर्माले दक्षिण कोरियामा रहँदा त्यहाँका ऊर्जा मन्त्रीलगायत अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।