प्रेमिकाको प्रयोग गरी व्यापारीको अपहरण, फिरौती लिएपछि प्रेमिकाकै हत्या

काठमाडौं, १० चैत । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् । अन्य दुई जना भने पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेको थियो ।

अपहरणमा राधिका श्रेष्ठ, किशोर गिरी र सरोज घोरासैने संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले बताएअनुसार मुख्य योजनाकार लामिछाने हुन् र, उनकी प्रेमिका राधिका अपहरित अग्रवालको पसलमा काम गर्थिन् ।

लामिछानेको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन् । सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो । होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे । त्यही मौकामा लामिछानेको समूहले अपहरण गर्‍यो ।

यो समूहले श्यामसुन्दरलाई कुटपिट गर्दै हातखुट्टा बाँधिदियो र मुखमा टेप लगाइदियो । १० लाख ७० हजार फिरौती लिएपछि उनलाई त्यहीँ छाडेर चारै जना भागे ।

अपहरणमा संलग्न चारै जना बसन्तपुर पुगेर रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरोज र किशोरले २-२ लाख पाए भने बाँकी रकम प्रेमी-प्रेमिका समेत रहेका प्रकाश लामिछाने र राधिकाले राखे ।

अनि प्रेमिकाको हत्या भयो

प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन् । केहीबेरमा किशोर र सरोज पनि पुगे । तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो ।

प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए । कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि प्रकाशले घाँटी थिचेर राधिकाको हत्या गरे । लगतै यो समूहले राधिकाको शव बोरामा प्याक गरेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर पुर्‍यो ।

यसरी खुल्यो राधिकाको हत्या

व्यापारी श्यामसुन्दर अग्रवाल फिरौती बुझाएर छुटेको खबरपछि प्रहरीले अपहरणकारीको खोजी थालेको थियो । त्यसक्रममा धादिङ घर भई कालिमाटी बस्ने २५ वर्षीया राधिकाको शव भक्तपुर मुहानपोखरीमा खाल्डोमा पुरेको अवस्थामा भेटियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।