नेपाली चेली तस्करी प्रकरणमा संसदको छानविनमा परेपछि परराष्ट्रमन्त्रीले दिए यस्तो धम्की ! आरोप प्रमाणित भए राजीनामा दिने घोषणा (भिडियो सहित)

काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफूमाथि लगाएको आरोप पुष्टि भए आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।

संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिको हिजो (आइतबार) बसेको बैठकले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको भन्ने समाचार आएपछि मन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको गुनासो पोखे । उनले भने, ‘यो स्वार्थसहित आएको निर्णय हो, मलाई आश्चर्य लागेको छ, हिजो समितिको बैठकमा मैले आफ्ना कुराहरु रोखेको छु, हिजोको बैठकमा कोरम पुग्ने संख्यामात्रै थियो, शीर्ष नेता सम्मिलित समितिमा हिजो कोही पनि हुनुहुन्थ्यो, भएका साथीहरुलाई पनि यो निर्णय आएपछि सोध्दा आश्चर्य मान्नुभयो ।’

समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताउँदै मन्त्री महतलाई नै कारबाही गर्नुपर्ने निर्णय गरेकोप्रति आपत्ति प्रकट गर्दै मन्त्री महतले भने, ‘यो समाचार आएपछि मलाई आश्चर्य लागेको छ, मैले त राम्रो काम गरेको छु, यो सबै गैरकानूनी काम हो, यसलाई रोक्नुपर्छ भनेर मैले निर्दैशन दिएको छु, तर यहाँ प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको छ, यो छानविनको विषय हो, मिडियाले यसमा सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।’

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेबारे निर्देशिका कार्यान्वयन गर्न आफूले निर्देशन मात्रै दिएको उनको दाबी छ । महतले मलेसिया लगायत देशमा अहिले पनि राज्यको जानकारी विना नै १७ हजार सात सय रुपैया लिएर पठाउने काम भइरहेको बताए ।

उनले समितिले किन यस्तो निर्णय गर्यो भनेर समितिका सभापति प्रभु साह लगायतका अन्य बैठकमा उपस्थिति सांसदहरुलाई समेत आफूले सोधेको बताउँदै भने, ‘मैले समितिका सभापतिलाई पनि फोनमा सोधें, किन यस्तो विज्ञप्ती आयो भनेर कुरा गरें ।’ उनले समितिले यसरी विज्ञप्ती निकाल्नु आँफैमा आश्चर्यजनक रहेको गुनासो पोखे । महतले समितिका सभापति साह कसैको ईशारामा चलेको समते आरोप लगाए ।

हचुवाको भरमा आरोप नलगाउन चेतावनी

मन्त्री महतले हचुवाको भरमा आरोप लगाउने काम गरिएको भन्दै कु–प्रवृत्तिको खिलाफ सबै सचेत नागरिकले बोल्नुपर्ने बताए । २०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा जारी भएको निर्देशिका कार्यान्वयन गराउन आफूले पहल गरेको बताए । उनले राम्रो काम गरेकोमा प्रोत्साहन गर्नुको साटो आफूलाई नै केन्द्रित गरेर (सिंगल आउट) गर्ने काम गरिएको भन्दै गुनासो पोखे ।

उनले के कारण र नियतले यस्तो निर्णय गरियो भन्दै प्रश्न समेत उठाए । उनले भने, ‘म हचुवाको भरमा के कारणले समितिले यस्तो निर्णय गर्यो भनेर टिप्प्णी गर्दिन्, तर यो खोजीको विषय हो ।’ उनले संसदीय समितिका गरिमामाथि नै प्रश्न उठाउने गरि निर्णय भएको बताए । उनले समितिले कसैको चरित्र हत्या गर्न पाउँछ र भन्दै प्रश्न समेत गरे ।

उनले आफू मन्त्री भएपछि सुधारका थुप्रै कामहरु भएको फेहरिस्त सुनाए । उनले पासपोर्ट, कन्सुलर सेवा सबै अनलाईन प्रणाली अनुसार व्यवस्था गरेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।