मोरङ कानेपोखरीको अस्फाल्ट प्लान्ट तत्काल बन्द गर्न माग

कानेपोखरी । मोरङको कानेपोखरी–५ को मानवबस्ती छेउमा सञ्चालित अस्फाल्ट प्लान्ट(सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग) तत्काल बन्द गर्न स्थानीयले माग गरेका छन ।

कानेपोखरी–५, जहदा सिरानमा चिसाङखोलाको पूर्वपट्टि बी एन्ड बी कन्स्ट्रक्सन प्रालिले अस्फाल्ट प्लान्ट निर्माण गरी २०७९ सालदेखि सडक कालोपत्रे गर्ने सामग्री उत्पादन र बिक्री गरिरहेको छ । चिसाङखोला किनारमा रहेको दुर्गाबहादुर राजभण्डारीको पाँच कट्ठा जग्गा लिजमा लिएर प्लान्ट निर्माण गरिएको हो ।

प्लान्ट मानवबस्तीको छेउमा निर्माण भएको भन्दै स्थानीयले उसबेला नै अन्यत्र सार्न स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेका थिए तर त्यसबेला स्थानीय र उद्योगीबिच सहमति भएपछि आन्दोलन रोकिएको थियो । हाल सचेत नागरिक समूहले प्लान्टबाट निस्कने धुवाँ र प्रदूषणले वातावरण, जीवजन्तु तथा मानव स्वास्थ्यमा घातक असर पुग्ने भन्दै प्लान्ट नहटाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सचेत नागरिक समूहले प्लान्ट बन्द गर्न स्थानीयको हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ । सचेत नागरिक समूहका संयोजक आनन्द राईले भने “पार्टी र स्थानीय सरकारको संरक्षणमा प्लान्ट चलिरहेको छ । हामीले मानव स्वास्थ्यमा असर गर्ने गरी यस्तो प्लान्ट स्थायी रूपमा राख्न हुँदैन भनेर बारम्बार सचेत गराएका छौँ । स्थानीय १ सय १४ जनाको हस्ताक्षरसहित पालिकामा ध्यानाकर्षणपत्र बुझाउन गयौँ । पालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भेटिनुभएन । उहाँहरू कार्यालयमा आएपछि ध्यानाकर्षणपत्र बुझाउने छौँ ।”

प्लान्टको स्थापना गर्ने बेलामा पनि स्थानीयले कोशी प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, घरेलु तथा साना उद्योग कार्यालय मोरङ, सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयलगायतमा ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त ध्यानाकर्षणपत्रले प्लान्ट निर्माण गर्न रोकेन ।
सामान्यतया यस्ता प्लान्ट राख्नु पूर्ववातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्छ ।

कम्पनीले गाउँपालिकाबाट ‘घ’ वर्गको कम्पनी अनुमतिपत्रबाहेक केही लिएको छैन् । प्लान्ट रहेको स्थाननजिकै एक हजार पाँच सय विद्यार्थी अध्ययन गर्ने विद्यालय रहेको, बाक्लो मानव बस्ती रहेको र त्यहाँबाट निस्कने केमिकलले मानिसमा क्यान्सर गराउने, छालामा समस्या देखिने, फोक्सोमा क्यान्सर हुने जोखिम रहेको सचेत नागरिक समूहको भनाइ छ । संयोजक आनन्द राईले भन्नुभयो, “हामी विकासविरोधी होइनौँ । विकास हामीलाई पनि चाहिएको छ । भौतिक विकासको लोभमा रोग भित्र्याउनु भएन ।” राईले कुनै पनि सरकारी मापदण्ड पूरा नगरी स्थायी प्लान्ट राखेर स्थायी रूपमा सञ्चालन गर्नु कानुनी राज्यको खिल्ली उडाउनु मात्र भएको बताए ।

सामान्यतया अस्फाल्ट प्लान्ट स्थायी रूपमा राख्न पाउने व्यवस्था छैन । जहाँ कालोपत्रे गरिने हो । त्यसैको छेउछाउमा अस्थायी प्लान्ट राखेर अलकत्र र बालुवा पकाउने गरिन्छ । राईले भने “यहाँ व्यावसायिक रूपमा प्लान्ट राखेर तीन वर्षदेखि चलाएकाले हामीले विरोध गरेका हौँ ।”
यता अस्फाल्ट प्लान्टका सञ्चालक भोजकुमार श्रेष्ठले प्लान्ट अत्याधुनिक मेसिन जडित भएकाले प्रदूषण नहुने दाबी गरेका छन। मेसिनको प्राविधिक बनोट पनि वातावरण अनुकूल तथा मानव स्वास्थ्यमा कुनै पनि प्रतिकूल असर नगर्ने खालको रहेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले आफू पनि स्थानीय नै भएकाले प्लान्टबाट निस्कने हानिकारक वायुको विषयमा चिन्तित रहेको बताउँदै प्लान्ट सञ्चालनका कारण स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको देखिएको भेटिएमा प्लान्ट सार्न सकिने बताए ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।