भात खाने बानीले नेपाल परनिर्भर बन्दै : तरकारीको मूल्य घट्यो, पहाडमा मूल्य बढ्यो, वैदेशिक लगानी बढ्यो

काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका छन् ।

युवा नहुँदा बर्सेनि उत्पादकत्व घट्दै गएको छ जसका कारण नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार नेपालीको भात खाने बानीका कारण रु १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको छ ।

भात खाने बानीले नेपालीलाई परनिर्भर बढाउँदै लगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा भात खानका लागि मात्र रु १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ । अघिल्लो वर्ष सोही अवधिमा रु १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।

बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै रु सात अर्ब ८८ करोडको तरकारी आएको छ । यस्तै, फलफूल मात्र भारतबाट आठ महिनामा रु तीन अर्ब ३७ करोडको आयात भएको बैंकले जनाएको छ । बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातका लागि रु छ खर्ब २८ अर्ब रकम बाहिरिएको छ । तर निर्यातबाट रु ४८ अर्ब मात्र भित्रिएको छ ।

चालु आवको आठ महिनामा रु ५५ अर्ब ७२ करोड मुल्यको गाडी आयात भएको छ । आयात अत्यधिक बढेका कारण व्यापार घाटा रु पाँच खर्ब ८० अर्ब पुगेको छ ।

तरकारीको मूल्य घट्यो, चिनीको बढ्यो

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो ।

सो समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यु तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य भने १०.७ प्रतिशतले वृद्धि भएको छ ।

पहाडमा मूल्य बढ्यो

बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौँ उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

वैदेशिक लगानी बढ्यो

चालु आवको आठ महिनामा मुलुकमा वैदेशिक लगानी चार गुणाले बढेको छ । आज सार्वजनिक भएको मुलुकको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा रु आठ अर्ब ३५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

गत आवको सोही अवधिमा जम्मा रु दुई अर्ब ३४ करोड मात्रै वैदेशिक लगानी भित्रिएको थियो । जलविद्युत्, होटल लगायतका क्षेत्रमा लगानी थपिएपछि वैैदेशिक लगानी गुणात्मकरुपमा बढेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।