माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न घिसिङको पुनः निर्देशन

काठमाडौँ, १० वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिनुभएको छ ।

सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिनुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा तयारी गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । मन्त्री शर्माको सो निर्देशनपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनामा प्रमुख लगानी गर्ने साझेदारको बैठकसमेत आयोजनास्थलमा नै राख्नुभएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाको हाल भौतिक प्रगति करिब ८८ प्रतिशतको हाराहारीमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माको पटक पटकको स्थलगत अनुगमनका कारण पनि पछिल्लो दिनमा आयोजनाको भौतिक प्रगति उच्च भएको हो । विद्युत् आयातलाई कम गर्न महत्वपूर्ण मानिएको माथिल्लो तामाकोसी आयोजना गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दी नभएको भए यतिखेर सञ्चालनमा आइसक्ने अनुमान थियो ।

आयोजनाको सुरुको लागत रु ३५ अर्ब रहे पनि नाकाबन्दी र भूकम्पका कारण लागत रु ४१ अर्ब पुगेको छ । प्रवक्ता न्यौपानेले आयोजनालाई सहजरुपमा अगाडि बढाउने र तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउन के के गर्न सकिन्छ भनेर कार्यकारी निर्देशक घिसिङले आवश्यक निर्देशन दिनुभएको जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।