डिआईजी नवराज सिलवाललाई पक्राउ नगरिएको प्रहरी प्रधान कार्यालयको दावी (विज्ञप्तीसहित)
काडमाण्डौं, १२ बैशाख – सोमबार आफ्नै संगठनले नियन्त्रणमा लिएर बयान लिएपछि नियन्त्रण मुक्त भएका डिआईजी नवराज सिलवाललाई पक्राउ नगरिएको प्रहरी प्रधान कार्यालयले दावी गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रहरी प्रवक्ता (एसएसपी) सर्वेन्द्र खनालले मन्त्रिपरिषद्को निर्णअनुसार सिलवालले अदालतमा पेश गरेको कासमु फाईलको प्रतिलिपीका सन्दर्भमा सोधपुछका लागी बोलाईएको तर नियन्त्रणमा नलिएको दाबी गरेका छन् ।
‘वैशाख ७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार डिआईजी सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मुल्यांकन फारमको प्रतिलिपीका सन्दर्भमा उक्त कागजात प्राप्तीको श्रोत र बैधानिकता खुलाउने भन्ने समेतको प्रयोजनले गठित छानविन समितिले डिआईजी सिलवाललाई सोधपुछका लागी सोमबार विहान ८ बजे पत्र दिएर सुचित गरेको थियो’ प्रहरी हेर्डक्वार्टरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सुचित गरेपश्चात सिलवालले आफ्नो कानुन ब्यवसायी शम्भु थापालाई साथमा लिएर अपराध अनुसन्धान विभागमा आएको र सोधपुछ पछी साँझ ४ बजेर ४० मिनेटमा निजलाई सकुसल घरमै पुर्याएको कुरा सर्वोच्च अदालत समक्ष जाहेर गरिएको छ ।’
तर, सोमबार साँझ ब्लड प्रेसर बढेको भन्दै ललितपुरको विएण्डबी अस्पताल भर्ना भएका डिआईजी सिलवालले आफुलाई अपहरणको शैलीमा प्रहरीले नियन्त्रणमा लिएको र अझैसम्म नछाडिएको बताएका थिए ।
पक्राउ पुर्जी बिना नियन्त्रणमा लिएको हुनाले औचित्य पुष्टि गर्न उनले अस्पतालबाटै चुनौति दिएका थिए ।



