केपी ओलीको रेल चढेर निर्वाचन यात्रामा देउवा, लाज त लाग्यो होलानी ओलीको कागजी रेल सामाजिक संजालमा दौडाउने कार्यकर्ता ?

काठमाडौं, १३ बैशाख– गतवर्ष चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनसँग पारवहन, रेल्वे, पेट्रोलियम पदार्थको आयातसहितका १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरे । उनी चीनबाट फर्के । चीनको आधिकारिक रेल्वे कम्पनी चाइना सीएमसी इन्जिनियरिङ लिमिटेडको टोली तत्काल नेपाल आयो । उसले केरुङ–काठमाडौं–लुम्बिनी र काठमाडौं–पोखराको रेल्वे अध्ययन गर्यो र नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको रेल्वे विभागमा बुझायो । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यसबाट छट्पटियो र भन्यो– प्रधानमन्त्री भएर हावा कुरा गर्ने ? ओलीको जिभ्रो थुतौंलाझै गरी कांग्रेसका तर्फबाट मिनेन्द्र रिजालले त पत्रकार सम्मेलन नै आयोजना गरे र भने– प्रधानमन्त्री ओलीको मानसिक अवस्था ठीक छैन । कांग्रेसका नेताले त पागल भने भने, नाम चलेका सम्पादक जो कांग्रेस निकट छन्, तिनले वालुवाटारमा भएको एउटा पत्रकार सम्मेलनमा ओलीलाई प्रश्न सोधे– काठमाडौंमा गाडी चढ्न पाइएको छैन रेल ल्याउने कुरा गर्दा तपाईंलाई अप्ठ्यारो लागेन ?
त्यतिले पनि पुगेन नेपाली कांग्रेसले आफ्ना भातृ संगठन नेबिसंघ र तरुण दललाई रेल्वे सम्झौताको खिल्ली उडाउन विरोध कार्यक्रम राख्न लगायो । प्रधानमन्त्री निवास वालुवाटार अगाडि कांग्रेस कार्यकर्ताहरु गए र कागजका नौका बनाएर ओलीको रेल भनी ब्यङ्ग्य गरे । ओलीले रेल्वेका लागि विस्तृत अध्ययन प्रतिवेदन समेत बनाएर गत कात्तिकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने मौका छोपेर रेल्वे परियोजनाको शिलान्यास नै गर्ने थाहा पाएपछि कांग्रेसमा झन् छट्पटि भयो । सरकार ढाल्न त्यही बेलादेखि तत्कालीन भारतीय राजदूत रन्जित रे, कांग्रेस सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन लगायतको टोली सक्रिय भयो । सरकार ढाल्यो पनि ।
स्थानीय तहको चुनाव घोषणापत्र सार्वजनिक नगर्दासम्म कांग्रेसका नेता कार्यकर्ताको एमाले अध्यक्ष ओलीलाई उडाउने मुख्य मसला रेल्वे थियो । तर, मंगलवारदेखि नेपाली कांग्रेसले आफ्ना तमाम कार्यकर्तालाई अप्ठ्यारोमा पारेर आफूले चुनाव जिते नेपालमा रेल्वे सेवा सुरु गर्ने घोषणा पत्रमा लेख्यो । रेल्वे सेवाका लागि चीनसँग भएको सम्झौता र अध्ययन प्रतिवेदनको विरोध गर्ने कांग्रेसले रेल ल्याए पनि नल्याए पनि घोषणा पत्रमा रेल लेखेपछि भोट आउँछ भन्ने विश्वास गरेको देखियो । अझ रमाइलो कुरा छ कांग्रेसको घोषणा पत्रमै उत्तरतिरका पहाड फोरेर रेल आएको आवरण तस्बिर छ । ओलीले रेल्वे सेवाका लागि विस्तृत योजना समेत बनाएर त्यसको शिलान्यास समेत गर्ने भएपछि चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार ढाल्नेदेखि दलालाई लामाका प्रतिनिधि लोप्साङ साङ्गेसँग भेट्न गोवासम्म पुग्ने शेरबहादुरको घोषणा पत्रमा लेख्दैमा नेपाली कांग्रेस रेल्वे सेवा ल्याउने पक्षमा छ भन्ने पत्याउन सकिएला ? गाह्रै छ ।
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको एउटा थेगो नै थियो– ‘नेपोली कोङ्ग्रेज जे बोल्च, त्यो गर्च ।’ जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि एमालेले बृद्धभत्ताको कार्यक्रम ल्याउँदा नेपाली कांग्रेसले के बोल्यो एकपटक सम्झौं । त्यसबेला नेपाली कांग्रेसले भनेको थियो– देशको ढुकुटी बृद्धभत्ता बाँडेर एमालेले सक्ने भयो । देशको ढुकुटी त सकिएन । बरु एमालेले ल्याएको बजेटले आर्थिक बृद्धिदरलाई शुन्यबाट ७ प्रतिशत हाराहारी पुर्याएको तथ्यांक भर्खरै राष्ट्रबैंकले सार्वजनिक गरेको छ । त्यस्तै गाउँ गाउँमा बजेट दिने एमालेको कार्यक्रमलाई कांग्रेसले विरोध गर्यो । नेपाली कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइराला ७ पटक, कृष्णप्रसाद भट्टराई दुई पटक, शेरबहादुर देउवा तीन पटक र सुशील कोइराला एक पटक प्रधानमन्त्री भए । ती सबैजसो बहुमतका एकल सरकार थिए । ती सरकारले के गरेका थिए जगजाहेरै छ । राज्यको स्वामित्वका २३ वटा उद्योगहरुलाई निजिकरण गरेर नेपालमै रोजगारीको अवसर बन्द गराए र नेपाली युवाहरुलाई अरवको मरुभूमीमा उँट चराउन जान वाध्य बनाए । आज पनि त्यसको नतिजा देशले भोगिरहेको छ । गाउँमा विकासका लागि बजेट दिंदा र बृद्धभत्ताका कार्यक्रम ल्याउँदा राष्ट्रिय ढुकुटी छरेको आरोप लगाउने कांग्रेसमा भने आधा दर्जन नेताहरु अर्र्बाैंको भ्रष्टाचार प्रमाणित भएर राजनीतिमा लाग्नै नपाउने भएर बसेका छन् । पार्टीहरुलाई परीक्षण गर्ने यो एउटा मापदण्ड होइन र ?
अब अहिलेको नयाँ नारा छ कांग्रेसको ‘कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आयो अव कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ।’ यसमा त लाज पनि मजाले लजाउँदै होला कांग्रेससँग । नेपालको संविधान विरुद्ध नाकाबन्दी लगाउनेको पुच्छर सुम्सुम्याएर हिंडेको कांग्रेस आज पनि त्यही निहुँमा संविधान जारी गरेवापत एमालेलाई प्रतिवादी करार गरिरहेको छ । लौ संविधान कांग्रेसको नेतृत्वमा आयो रे । संविधान ल्याएवापत केपी ओलीमाथि आक्रमण किन त ? संविधान जारी गरेवापत ओलीमाथि भारत, मधेसी मोर्चा, कांग्रेस, माओवादी एउटै कित्तामा उभिएर आक्रमण गरिरहेका छन् र ओली मधेस विरोधी हो जनजाति विरोधी हो भन्दै घेराबन्दी गरिरहेका छन् । अनि चुनावी नारा कांग्रेसको नेतृत्वमा संविधान ? शेरबहादुरले लाज नमाने पनि वैचारिक भनिएका केही नेताहरुले त लाज मानेका होलान् आफ्नै नारा पढेर । नेपालको संविधान विरुद्ध भारत र इयुले संयुक्त वक्तब्य जारी गर्दा समर्थन गर्ने नेपाली कांग्रेस शान्ति र संविधानको नेतृत्वकर्ता ? मज्जाले हासो उठ्दैन त ?
अझ अर्काे नाराले त खुब हंसाउँछ । कांग्रेसको नेतृत्वमा सिंहदरवारको अधिकार गाउँमा रे । कांग्रेसले गाउँमा पुगेका अधिकार कटोती गर्न संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ होइन र भन्या ? स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रियसभाका सांसद छान्ने मताधिकार कटौती गर्ने र प्रदेशसभालाई प्रदेशको सीमाङकन गर्ने अधिकार काट्ने प्रस्ताव ल्याउनेले यस्तो नारा तयार गर्नु भनेको कांग्रेसको घोषणा पत्र पढ्ने सबै भेडा हुन् भन्न खोजेको होइन र ?


