‘सर तपाईंहरुले विदेशमा हराएको मान्छे खोजिदिनु हुन्छ रे हो ?, मेरो श्रीमानलाई पनि खोजिदिनुस् न’
धनुषा, वैशाख १३ –‘सर तपाईंहरुले विदेशमा हराएको मान्छे खोजिदिनु हुन्छ रे हो ।’ महिलाको यो भनार्ईले धनुषाको सूचना केन्द्रका परामर्शकर्ताको ध्यान तान्यो । यसरी सोध्दै खोज्दै आउनुभएको थियो धनुषाको दुब्बरकोट हथलेटवा–८ की रेखादेवी मण्डल ।

उहाँका श्रीमान श्रीप्रसाद मण्डल गएको चैतमा दुवई जानुभएको थियो । उहाँका लागि दुवई नयाँ गन्तव्य थिएन् । किनकी उहाँले दुवईको त्यही कम्पनीमा काम गरेको १० वर्ष भइसकेको थियो । भने अनुसारकै काम र तलब पाएका श्रीप्रसाद छुट्टीमा नेपाल आएर फेरि दुवई फर्किनुभएको थियो ।
सम्पत्तिको रुपमा ५ कठ्ठा मात्रै जग्गा भएका उहाँको परिवार विदेशबाट पठाएको पैसाले नै चल्थ्यो । उहाँ विदेश पुगेपछि राम्रो कमाई हुन थाल्यो । त्यसैले उहाँले श्रीमतीलाई बजारतिर सर्न सल्लाह दिनुभयो । श्रीमानकै सल्लाहमा रेखादेवी हथलेटवाबाट जनकपुर सर्नुभयो छोराछोरीलाई पढाउन । शहरतिर सरेपछि पनि घर व्यावहार राम्रै चलिरहेको थियो । श्रीमानले हप्तामा तीन चार पटक फोन गर्नुहुन्थ्यो ।
पुष लाग्ने बित्तिकै पनि पैसा पठाएका श्रीमानले रेखालाई ‘पैसा पठाएको छु । छोराछोरालाई जाडोमा धेरै हिँड्न नदिनु’ भन्नुभएको थियो । त्यसपछि दुई हप्ता बित्दा पनि रेखालाई श्रीमानको फोन आएन । उहाँले यतैबाट फोन गर्नुभयो तर उठेन ।
पुस २८ गते रेखालाई जनकपुर नै घर बताउने रामनरेशले फोन गर्नुभयो । उहाँले श्रीप्रसाद दुर्घटनामा परेको खबर सुनाउनुभयो । ‘उहाँले शुक्रबार रक्सी खाएर सडक पार गर्ने क्रममा दुर्घटना भयो । उहाँको बायाँ खुट्टा भाँचिएको छ, पुलिस केश भएकाले जेल जानुपर्छ होला भन्नुभयो’ रेखाले रामनरेशसँगको फोनमा भएको कुराकानी सुनाउनुभयो ।
त्यसपछि न रामनरेशको फोन लाग्यो न त श्रीमानकै । पुसको पहिलो हप्ताको फोन नै श्रीमानसँगको अन्तिम फोन भएको कुरा सुनाउँदै गर्दा रेखाको गला अबरुद्ध भयो । श्रीमानकै कमाई र उहाँकै आँटले गाउँबाट बजार सरेकी रेखालाई अहिले घर चलाउन पनि समस्या भएको छ । रेखाले भन्नुभयो ‘३ वटै छोरा छोरी बोर्डिङ्ग स्कुलमा पढ्छन् । विदेशबाट आएको पैसाले स्कुल फिस तिर्थे । तर वार्षिक परीक्षा आउनै लाग्दा अहिले भने उहाँसँग स्कुललाई तिर्ने पैसा छैन ।
श्रीमान बेपत्ता भएपछि उहाँ चिनेजाने धेरैसँग पुग्नुभयो । तर केहीले हराएका मान्छे खोज्न धेरै पैसा लाग्छ भने अनि केहीले हराएको मान्छे खोजेपनि भेटिँदैन भन्ने जवाफ दिए । त्यसैले सहयोग माग्न जिल्ला प्रशासन आएकी रेखा प्रशासनसँगै रहेको सूचना केन्द्रमा पुग्नुभएको हो ।
रुन्चे अनुहार लगाउँदै केन्द्रमा पुगेकी रेखाले भन्नुुहुन्छ ‘तपाईंहरुले अरु पनि धेरैलाई खोज्नुभएको छ रे, मेरो श्रीमानलाई पनि खोजिदिनुपर्यो ।’ सूचना केन्द्रले प्रवासी नेपाली समन्वय समितिको सहयोगमा श्रीप्रसादको खोज सुरु गरेको छ भने रेखादेवीलाई मनोपरामर्श दिइरहेको छ ।
– समिताकुमारी तामाङ/धनुषा/उज्यालो ।


