‘सरकार आफैंले आकाश खसालेर चुनाव भाँड्न खोज्यो’ : ओली
काठमाडौं, १४ बैशाख– एमाले अध्यक्ष केपी शर्मा ओलीले जे जे गर्दा चुनाव भाँड्न सकिन्छ सत्तापक्षले अहिले त्यही गरी चुनाव नगर्ने बाहना खोजिरहेको वताएका छन् । पार्टी मुख्यालय धुम्बाराहिमा आयोजित चुनाव प्रचार अभियानको औपचारिक रुपमा उद्घाटन गर्दै ओलीले चुनाव भाँड्ने तारतम्य गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आकाश खसे मात्रै’ चुनाव रोकिने भाषण गरेको आशंका ब्यक्त गरे ।

फाईल फोटो
‘एकदिन प्रधानमन्त्रीले आकाश खसे मात्रै चुनाव रोकिन्छ भन्ने भाषण गरेको सुन्दा नै भित्र भित्रै चुनाव भाँड्न केही गरेछन् भन्ने आशंका लागेको थियो’ ओलीले भने, ‘चुनावका सबै तयारी पूरा भएर सिंगै देश निर्वाचनमा होमिएपछि केही दललाई बालुवाटार बोलाएर दुई चरणमा चुनाव भने । त्यसैबीचमा ११ जिल्लामा स्थानीय तह थप्न परिपत्र गरे, दोस्रो चरणमा चुनाव गर्ने ठाउँमा त मतदाता समेत थप्ने भनिरहेका छन् । भित्र यस्तो तयारी गरेर बाहिर आकाश खसे मात्रै चुनाव रोकिने वताएका रहेछन् ।’
गतसाता प्रधानमन्त्री पुष्पकमल दाहालले झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आकाश खसे र धर्ती फाटे मात्रै बैशाख ३१ गतेको चुनाव नरोकिने वताएका थिए । लगतै दाहालले मधेसी मोर्चा चुनावमा जान सहमत भएको भन्दै चुनाव दुई चरणमा गर्न सिफरिस गरेका थिए । सरकारका शंकास्पद गतिविधिप्रति ब्यङ्ग्य गर्दै एमाले अध्यक्ष ओलीले जे जे गर्दा परिस्थिति बिग्रिन्छ सरकारले त्यही गरेर चुनाव भाँड्न खोजेको वताए । चक्रपथ डट कममा समाचार छ ।
‘देशभरका मतदाता मतदानको दिन पर्खेर बसेको अवस्थामा के निहुँमा त्यसलाई भाँडौं भन्ने बाहना खोजिरहेका थिए, अनि बालुवाटारमा बैठक डाके लौ सहमति भयो अव दुई चरणमा चुनाव भन्ने हल्ला चलाएर चुनाव बिथोल्ने बाटो खोजे’ ओलीले भने, ‘चुनाव घोषणा गरेपछि गर्नै नहुने विचित्रका काम सरकारले गर्ने र त्यसको विरोध भयो भने अरुलाई चुनाव भाँडेको दोष लगाउन मन्त्रिपरिषदले प्रदेशको सीमाङकन गर्ने र स्थानीय तह थप्ने असंवैधानिक काम गर्न थाले ।’
चुनाव घोषणा गरिसकेपछि आर्थिक निनियोजनका सामान्य काम पनि गर्न नमिल्ने बेलामा चुनावी घोषणापत्र अनुसार देशको बजेटै ल्याउने, खरदार पनि सरुवा गर्न नमिल्ने विषयमा प्रधानमन्त्री र मन्त्रीहरु नै परिवर्तन गर्नेसम्मका विचित्रका काम तय भएको ओलीको भनाई थियो । निर्वाचन आचार संहिता विपरित क्रियाकलापमा निर्वाचन आयोगलाई समेत समर्थनमा बोल्न लगाइएको ओलीको भनाई थियो ‘चुनाव घोषणा भइसकेपछि खरदार सुब्बा सरुवा गर्न नपाईंने, कुवा खन्न पनि नयाँ रकम छुट्याउन नपाईंने आचार संहिता छ’ ओलीले भने, ‘यहाँ त चुनावका बीचमै प्रधानमन्त्री पनि नयाँ बनाउने, बजेट पनि ल्याउने, अझ विचित्रको कुरा त निर्वाचन आयोगलाई प्रयोग गरेर नयाँ बजेट ल्याउन पाइन्छ भन्न लगाइयो ।’
ओलीले ५ दलको बैठकमा जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्व पर्ने भएकाले उक्त दिन चुनाव हुन नसक्ने कुरा उठाउँदा पनि कांग्रेस सभापति शेरबहादुरले एमालेलाई चुनाव हुन नदिने आरोप लगाएको जानकारी दिए । ‘यिनीहरु जे हुँदैन त्यो गर्छु भन्छन्, ए यस्तो हुँदैन भन्यो भने चुनाव हुन नदिने भनेर अर्काको टाउकोमा दोष थोपर्ने कोसिस गर्छन्’ ओलीले भने । उनले अहिलेको सरकारलाई धाँधलीबाज सरकारको उपमा दिए ।
प्रहरी महानिरीक्षकको कार्यसम्पादन मुल्यांकन फाइल सर्बाेच्च अदालतमा एउटा बुझाउने र पछि अर्कै किर्ते फाइल हेरेर नियुक्ति गरी सरकारले किर्ते गरेको वताए । ‘सरकारले सर्बाेच्चमा एउटा कार्यसम्पादन मुल्यांकन फाइल पठायो, सर्बाेच्चले सबैभन्दा अगाडि रहेकोलाई नियुक्त गर्न भनेपछि अर्काे किर्ते फाइल बनाएर नियुक्त गर्यो’ ओलीले भने, ‘आफूले गरेको किर्तेमा डीआइजीलाई फसाउने प्रयास गरिरहेको छ । सरकारले तयार गरेको फाइल किर्ते हुँदा सरकारले किर्ते गरेको प्रमाणित हुने होइन ?’
ओलीले प्रचा सामग्रीको विमोचन समेत गरेका थिए । कार्यक्रममा जनगायक बद्रि पंगेनी, कलाका राजाराजेन्द्र र महेश खड्कालाई सम्मान गरिएको थियो ।


