भारत हुँदै युएई पुगेका ३५ जना नेपाली महिलालाई विमानस्थलबाटै स्वदेस फिर्ता

काठमाडौँ, भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।

उनीहरुलाई सोमबार साँझ फिर्ता गरिएपछि आज १२ जना दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । बाँकी २३ जना महिला अझै दुबईमै रहेको र फिर्ता हुने टिकट नहुँदा अलपत्र अवस्थामा रहेका छन् । महानिर्देशक गेलालले भन्नुभयो– ‘‘अहिले फिर्ता भएका आफ्नै पैसाले टिकट काटेर फर्किएको बताएका छन्, अरु टिकट काट्ने पैसा नहुँदा दुबईमै रहेको विवरण आएको छ ।’’

उनीहरु पर्यटक प्रवेशाज्ञामा गएको अनुसन्धानको क्रममा देखिएको छ । पर्यटक प्रवेशाज्ञामा जानेहरुले जाँदा नै आफूसाथमा आउने टिकट पनि साथै लिएर जानुपर्नेमा उनीहरुको साथमा त्यस्तो टिकट नरहेको भेटिएको छ । फर्किएकाले दिएको प्रारम्भिक वयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट दुबई जाँदा उनीहरुले आफू दुबई हुँदै अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका छन् ।

विभागका महानिर्देशक गेलालले उनीहरुलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको जानकारी दिनुभयो । पक्राउ परेकाले दिएको विवरणको आधारमा उनीहरुलाई त्यसरी अवैध बाटोबाट कुँवेत लैजाने गिरोहबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसरी जानेमा विभिन्न जिल्लाका रहेका छन् ।

उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।
पर्यटक प्रवेशाज्ञामा जान लागेका उनीहरुको साथमा जाने टिकट भए पनि आउने टिकट नभेटिएपछि उनीहरुलाई फिर्ता गरिएको थियो ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरुमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।