प्रधानमन्त्रीबाट राजीनामा नदिन प्रचण्डलाई एमालेको चर्को दवाव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पहिलो चरणको निर्वाचन भए लगत्तै राजीनामा दिने घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) खुशी हुनपर्नेमा दुःखी भएको छ । सरकारले राजिनामा दिँदा प्रतिपक्षी खुशी हुने प्रचलन बीपरित एमाले दुःखी हुनुको कारण भने प्रचण्डको राजिनामा पछि पनि एमालेको नभई काँग्रेसको प्रधानमन्त्री हुनु हो ।
सोही कारण एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा नदिन भित्रि रुपमा सन्देश पठाईरहेको छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो– तपाई राजिनामा नदिनुहोस, काँग्रेसले समर्थन फिर्ता लिए, हामी समर्थन गर्छौ भन्दै पछिल्लो दिनहरुमा लगातर एमालेका नेताहरुको प्रधानमन्त्रीलाई फोन आईरहेको छ ।
काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनलाई जसरीपनि तोड्ने योजना एमालेको छ । यो मोर्चा तोड्न सकेमात्रै आफुहरु सरकारमा पुग्ने आँकलन सहित एमालेले मोर्चा तोड्न भरमग्दुर प्रयासमा छ ।
निर्वाचनअघि चितवनमा भएको चुनावी सभामा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले यो गठबन्धन अर्को संसदको निर्वाचनपछि जारी रहने घोषणा गरेपछि एमाले नराम्ररी झस्कीएको छ । वामपन्थीबिचको एकतानै उपयुक्त हुने र यसलाई लामो समय निरन्तरता दिनुपर्ने भन्दै एमालेका नेताहरुले प्रचण्डलाई फकाई रहेको छन् ।
प्रचण्ड भने आजभोलीनै राजीनामा दिने मनस्थितीमा रहेका उनि निकट स्रोतले बतायो । सँधै बोलीको कच्चा रहेको आरोप लाग्दै आएका प्रचण्ड यसपटक बोलीको पक्का रहेको देखाउनका लागि भएपनि राजिनामा दिने मुडमा छन् ।
निर्वाचनमा मनोनयन हुनेदिनसम्ममा पनि धेरैले निर्वाचन हुनेमा आशंका गरीरहेको बेलामा निर्वाचन सफलतापूर्वक सम्पन गरेपछि अहिले प्रचण्डले राजनितीक रुपमा आफ्नो उचाई कायम गर्न सफल भएका छन् । संसदमा आफुले गरेका यिनै कामको फेहरिस्त प्रस्तुत गर्दै संसदबाट राजिनमा दिने तयारी प्रचण्डको छ । प्रचण्डले आजनै संसदबाट राजिनमा दिने तयारी गरेकोमा त्यो एक दुई दिन पर सर्ने सम्भावना रहेको छ ।
अझ फास्टट्रयाक भारतीयलाई ठेक्का दिने तथा वान बेल्ट वान रोड(ओबिओआर)मा सरकारले सहमति नदिने अनुमानका बिपरित पचण्डले फास्टट्रयाक स्वदेशी लगानीमै बनाउने तथा ओबिओआरमा हस्ताक्षर गरेपछि प्रचण्ड सफलताको चुलीमा पुगेका छन् । यही अवस्थामा राजिनामा दिएमात्रै त्यो चुली कायम राख्ने ठहर सहित उनले राजिनमा दिने मुड बनाएका हुन् ।
अर्कोतर्फ माओवादीभित्र पनि सरकार छोड्न नहुने दवाव पनि प्रचण्डलाई छ । एमालेले सहयोग गर्छ भने प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने सुझाव प्रचण्डलाई दिने माओवादी नेताहरुपनि धेरैनै रहेका छन् । अहिलको निर्वाचनमा तालमेल अनुसारको सहयोग काँग्रेसबाट नभएकोले एमालेसँग तालमेल गरेर जानुपर्ने आवाज समेत माओवादी केन्द्रमा चलेको छ ।
काँग्रेस र माओवादी गठबन्धन कायम रहे अझ कैयौं वर्ष आफुहरु सत्तामा जान नपाउने संकेतले एमालेमा अझ पिडा थपेको छ । सरकारमा नहुँदा निर्वाचनमा समेत चलखेल गर्न नपाएको तथा पार्टीको आर्थिक स्रोत पनि सुक्दै गएको एमालेको ठहर छ ।
त्यसैले जसरी पनि अहिलेको सराकारको गठबन्धन तोड्ने र आफुहरु सरकारमा जान जुनसुकै उपाय अपनाउने एमालेका तयारी छ ।


