ओलीसँग प्रचण्डलाई डर: बाक्सा साट्न भरतपुर गएको आरोप लगाउन सक्ने भन्दै छोरी भेट्न अस्वीकार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहानै चितवन पुगेर अपराह्न फर्किए । धेरैको अनुमान थियो, प्रधानमन्त्रीले भरतपुरको मेयरमा चुनाव लडेकी पुत्री रेणु दाहाललाई भेट्नेछन् ।
मतगणना स्थलमा पुगेर स्थितिबारे जानकारी लिनेछन् । केही सञ्चार माध्यमले त ‘अनुमानकारिता’ गरेका पनि थिए । तर, अनुमानहरुविपरीत प्रधानमन्त्री भरतपुरमा पाइलै नटेकी राजधानी फर्किए । उनी काठमाण्डुबाट सिधै हेलिकोप्टरमा नवलपरासी गए । उद्योगपति विनोद चौधरीले निर्माण गरेको नमुना चौधरी बस्तीको अवलोकन गरे । हेलिकोप्टरमा सिधै आफूले बीएस्सी एजी अध्ययन गरेको रामपुर कृषि क्याम्पस र हालको कृषि तथा वन विज्ञान अध्ययन विश्वविद्यालयको कार्यालय उदघाटनका लागि पुगे । कार्यक्रममा सहभागी भएर सिधै राजधानी फर्किए ।
‘हामी भरतपुर जाने सेड्डुअल नै थिएन’, प्रचण्डका स्वकीय सचिवसमेत रहेका पुत्र प्रकाश दाहालले भने, ‘सिधै रामपुर गइयो, कार्यक्रम सकेर काठमाण्डु फर्किइयो ।’ स्रोतका अनुसार भरतपुरमा ओर्लंदा छोरीलाई निर्वाचन जिताउन धाँधली गर्न गएको आरोप लाग्ने ठानेर उनी भरतपुरमै नगएका हुन् । यसअघि निर्वाचनअघि मत माग्न गएका बेला प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवासँगै बुद्ध एयरको नियमित उडानबाट भरतपुर गएका थिए । तर, यसपटक भरतपुर विमानस्थलमा अवतरण गर्दा अनेक आशंका हुन सक्ने र एमालेसहित विपक्षीले विरोधका लागि मसला बनाउने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नियमित उडानमा नगएको र भरतपुर विमानस्थल नै प्रयोग नगरेको उनको निजी सचिवालय स्रोतले बतायो ।
‘भरतपुर विमानस्थलमा पाइला मात्रै टेकेको भए पनि केपी ओलीले उखान तुक्का हालेर छोरी हार्ने भएपछि बाक्सा साट्न हेलिकोप्टर चढेर भरतपुर गएको मसलादार भाषण गर्ने थिए’,
प्रचण्डका एक सहयोगीले भने, ‘विवादमा पर्न सक्ने सम्भावनालाई ख्याल गरेरै उहाँ भरतपुर जानुभएन ।’


