धनकुटामा साढे ५ दर्जन अपाङ्गता मैत्री मतदान केन्द्र
धनकुटा खबर, जेठ १७ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज मतदानमा सहयोग पुर्याउने उदेश्यले आसन्न स्थानिय तहको चुनावमा धनकुटामा ६७ वटा अपाङ्गता–मैत्री मतदान केन्द्र रहने भएको छ ।

तस्वीर: धनकुटा नगरपालिका स्थित त्रिवणी मतदाता केन्द्रमा बनाईएको अपांगता–मैत्री मतदान केन्द्र
अपाङ्गता भएकै कारण धेरै मतदाताले बन्चित हुन परेको गुनासो आएपछि उक्त आपाङ्गता–मैत्री केन्द्र बनाएको जिल्ला निर्बाचन कार्यलय धनकुटाका प्रमुख प्रदिप साहले बताए ।
अधिकांश अपांगता–मैत्री बिद्यालय र पुराना गाबिस भवनमा ६५ वटा केन्द्र तोकेको कार्यालयले धनकुटा नगरपालिकामा थप २ वटा अपांगता–मैत्री केन्द्र निर्माण गरेको शाहले जानकारी दिए ।
३ नगरपालिका र ४ गाँउपालिका रहेको धनकुटामा १ सय १७ वटा मतदान स्थल अन्तर्गतका १ सय ४३ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
जिल्लाको कुल ९५ हजार ३ सय ६७ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेको कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।


