धनकुटाको ७ वटै तहमा राप्रपाको उम्मेद्ववार घोषणा !
धनकुटा खबर / जेठ २३ । आसन्न दोस्रो तहको स्थानीय निर्वाचनको लागि धनकुटाको ७ वटै तहका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

राप्रपाले मंगलबार धनकुटामा एक घोषणा सभाको आयोजना गरेर जिल्लाको ४ नगरपालिका र ३ गाउँपालिकाका ६० वटै वडाको उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो ।
महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कांग्रेस संग तालमेल गरेपनि अन्य स्थानीय तहको एक्लै चुनाव लड्ने राप्रपाले जानकारी दिएको छ ।

महालक्ष्मी नगरपालिकाको अध्यक्षमा कांग्रेसका अग्नी पौडेललाई सहयोग गर्ने राप्रपाले उपाध्यक्षमा निर्माण ब्यबसायी महेन्द्र निरौलालाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै छथरजोरपाटीमा अध्यक्षमा माधव भट्टराईलाई उम्मेद्वार बनाएको राप्रपाले उपाध्यक्षमा कांग्रेसका उम्मेद्वारलाई सहयोग गर्ने भएको छ ।
घोषणासभामा दिईएको जानकारी अनुसार राप्रपाले सदरमुकामको धनकुटा नगरपालिका जिल्ला उपाध्यक्ष बालनन्द भुर्तेललाई मेयर र उपाध्यक्षमा ताराकुमारी तामाङलाई उपमेयरको उम्मेदुवार बनाएको छ ।

पाख्रीबास नगरपालिकाको मेयरमा श्याम गुरुङ र उपमेयरमा पवित्र श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
चौविसे गाउँपालिकाको अध्यक्षमा गजेन्द्र बस्नेत र उपाध्यक्षमा चन्द्र बुढाथोकीलाई उम्मेदुवार बनाएको छ ।
त्यस्तै साँगुरीगढी गाउँपालिकामा धर्मध्वज राईलाई अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लगाउन बाँकी रहेको घोषणासभामा जानकारी दिईएको छ । खाल्सा छिन्ताङ सहीदभुमी गाउँपालिकामा गुर्जमान राईलाई अध्यक्ष र अनिता राईलाई उपाध्यक्षको उम्मेद्वार बनाएको छ ।

यस अघिको दोस्रो संबिधानसभको चुनावमा धनकुटाको क्षेत्र नं. २ जितेको राप्रपाले स्थानीय तहमा पनि सो क्षेत्रमा विजय प्राप्त गर्ने धनकुटाका अध्यक्ष कुमारबहादुर थापाले कार्यक्रममा उ्घोष गरेका छन् ।
२०७० को संविधानसभाको निर्वाचनम क्षेत्र नं. १ मा २ हजार ४८ मत पाएको राप्रपाले क्षेत्र नं. २ मा पूर्व बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले १० हजार ४ सय मत पाएर सांसद जितेको थियो ।



