डाँडाबजार धनकुटाकै पहिलो पूर्ण सरसफाई बजार !
धनकुटा खबर, जेठ २६ । धनकुटाको डाँडाबजार धनकुटाको पहिलो पहिलो पूर्ण सरसफाई युक्त बजार हुने भएको छ ।
साबिक डाँडाबजार गाबिस हाल चौबिसे गाबिसको वडा नं.५ मा भएको डाँडाबजार घोषणाको अन्तिम चरणमा रहेको क्षेत्रीय खानेपानी तथा ढलनिकास सरसफाई समितिले सर्बपक्षिय अनुगमन गराएर जानकारी दिएको छ ।

बिश्व बैंकको सहयोगमा गैरसरकारी संस्था पर्डेप नेपाल मार्फत् जिल्लाका साबिक ८ गाबिसहरुमा सन्चालन भईरहेको अभियान मध्ये डाँडाबजारले पूर्ण सरसफाईको सबै सूचक पुरा गरेको छ ।
गएको साउन महिनाबाट शुरु गरिएको सरसरफाई अभियानबाट वडामा रहेको कुल ५ सय ५५ घर धुरी मध्ये ५ सय ५३ जनाले अभियानको तीन तहको सबै सूचक पुरा गरेको वडा सचिव एलिस पोखरेलले जानकारी दिनुभयो ।
अभियानका क्रममा फोहोर घरलाई रातो रंगको स्टिकर,सुधार उन्मूखलाई पहेंलो र पूर्ण सफाई भएकोलाई हरियो स्टिकर टाँसेर घरमा सूचित गरिएको थियो ।
अहिले सम्म कुनै पनि घर रातो सूचिमा नभएकोले असार मसान्त भित्रमा सबै घरले हरियो स्टिकर पाएर पूर्ण सरसफाई वडा घोषणा गरिने क्षेत्रिय अनुगमनका कार्यक्रम संयोजक मोहन धितालले जानकारी दिनुभयो ।
बिश्व बैंकको सहयोगमा हाल पर्डेप नेपाल मार्फत् धनकुटाका साबिक गाबिसहरु राजारानी, डाँडाबजार, भेडेटार, महाभारत, बुधुक, लेगुवा, आहाले र डाँडाबजारमा पूर्ण सरसफाईका लागि कार्यक्रम सन्चालन गरिरहेको छ ।

तस्वीर: अनुगमनमा हरियो स्टिकरका बारेमा जानकारी दिंदै क्षेत्रिय अनुगमनका एक कर्मचारी र डाँडाबजार


