मोहन वैद्य र नेत्र विक्रम चन्दलाई प्रचण्डले भने, – अब मिलौँ

काठमाडौं, जेठ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ ।

आफ्नो निवास लाजिम्पाटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, ‘अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीकाबीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाइएको बताउँदै ‘अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ’ भन्नुभयो ।

देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उहाँले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको बताउनुभयो ।

आफ्नो पार्टी मुलुकको एउटा केन्द्र बन्दैछ भन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार रहेको बताउँदै उहाँले नेकपा एमाले अवसरवादीको पर्याय भएको र सो पार्टीभित्र रहेका इमान्दार नेता तथा कार्यकर्तालाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने र त्यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिसहित मुलुकलाई नयाँ स्थानमा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका तीन दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले रातो टीका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, प्रवक्ता पम्फा भुसाललगायतको सहभागिता थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖