यी हुन विराटनगर, इटहरी र धरान का एमाले उम्मेदवार !

विराटनगर महानगर र दुई उपमहानगरमा एमालेका उम्मेदवार तय

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ ।

पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी तथा इटहरी उपमहानगरपालिका प्रमुखमा द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवारी दिने निर्णय गरेको छ ।

निर्वाचन अनिवार्य

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र ऐतिहासिक संविधानसभाबाट निर्माण भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझ सुदृढ गर्दै जनताको घरदैलोसम्म राज्यका निकायहरुको सेवा विस्तार गर्ने र मुलुकको आर्थिक समृद्धिका निम्ति राज्य र जनताको संयुक्त पहलकदमीलाई अघि बढाउन स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको उपस्थिति अनिवार्य रहेकामा जोड दिएको छ ।

पार्टीका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनपश्चात् आमजनतामा उत्साहको सञ्चार देखापरेको र यो ऐतिहासिक आवश्यकतालाई मनन गर्दै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै राजनीतिक दललाई उत्साहका साथ सहभागी बन्न बैठकले आह्वान गरेको जनाइएको छ ।

निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न र सम्पूर्ण मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने अवसर सिर्जना गर्न बैठकले नेपाल सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गरेको छ ।

अन्सारी सल्लाहकारमा मनोनित
बैठकले हालै राष्ट्रिय जनता पार्टी परित्याग गरी प्रवेश गर्नुभएका समिम मियाँ अन्सारीलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।