३ महिना की छोरी च्यापेर एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार घैरदैलो अभियानमा !

जेठ महिनाको चर्को घाम । त्यसमाथि मध्याह्नको उराठलाग्दो गर्मी । तर, एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार लीला विष्टलाई घाम र गर्मीको कुनै पर्वाह छैन । उनी बिहान होस् या मध्याह्न एक महिनादेखि हरेक मतदाताको घरमा पुगिरहेकी छिन् । नेता–कार्यकर्तासँगै मतदाताको घरघर पुगिरहेकी विष्ट अरू उम्मेदवारभन्दा अलि फरक पनि छिन् । अन्य उम्मेदवारको जस्तै उनको हातमा झन्डा र प्रचार सामग्री मात्रै छैनन् ।

उनी तीनमहिने छोरी पनि सँगै बोकेर भोट मागिरहेकी छिन् । ‘उम्मेदवारी घोषणा गर्दा छोरी दुई महिनाकी मात्रै थिई, एक महिना यसैगरी बितिसक्यो,’ विष्टले भनिन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया–२ सिउँडेबाट उम्मेदवारी दिएकी लीला जित्ने दाबी गर्छिन् । उनले दशकौँदेखि गाउँका महिलाले भोग्दै आएका समस्या निराकरणका लागि पनि आफूले जित्नैपर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक कुसंस्कार, अशिक्षा र गरिबीका कारण महिलामाथि हुने थिचोमिचो रोक्न मेरो उम्मेदवारी हो ।’

छोरी तीन महिनाकी भए पनि घरपरिवार र पार्टीको सहयोगका कारण प्रचारप्रसारमा खटिन सहज भएको उनी बताउँछिन् । घरका सबै सदस्यको सहयोगले नै उम्मेदवारी सम्भव भएको उनले बताइन् । ‘प्रचार–प्रसारमा लाग्ने सम्पूर्ण खर्च व्यवस्थापनदेखि छोरीको रेखदेखमा श्रीमान् र परिवारको सहयोग पाएकी छु,’ उनले भनिन् ।

तीनमहिने दुधे बच्चा साथमा हुँदा प्रचारप्रसारमा समस्या हुन्छ कि भन्ने चिन्ता भए पनि पार्टीले उनको छवि, क्षमता र जनताको विश्वास जितेकाले उम्मेदवार बनाएको एमाले सुर्नया गाउँपालिका प्रचारप्रसार विभाग प्रमुख अनन्त विष्टले बताए । सामान्य गरिब किसान परिवारकी लीलाले तीनमहिने छोरीको स्वास्थ्यमा कुनै असर नपर्ने गरी प्रचार–प्रसारमा हिँडिरहेको बताइन् । ‘२० वर्षपछि नेतृत्वका लागि अवसर पाएकी छु,’ उनले भनिन्, ‘जनताको पनि सहयोग पाएकाले छोरीलाई असर नगर्ने गरी चुनावी प्रचार–प्रसारमा आएकी छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।