नेपाली कांग्रेस सभापतिसहित ३४ जनाले दिए सामूहिक राजीनामा !
कैलाली, २९ जेठ । असार १४ गते हुने भनिएको दोश्रो चरणमा स्थानीय तह निर्वाचनलाई लिएर जिल्ला केन्द्रले एकलौटी निर्णय गरेको भन्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिलगायत ३४ जनाले जिल्ला सभापतिलाई सम्बोधन गर्दै सामुहिकरुपमा पदबाट राजीनामा दिएका छन् ।
क्षेत्र नम्बर ३ क्षेत्रीय सभापति जीवनप्रसाद श्रेष्ठले भजनी नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत वडा अध्यक्षको टिकट वितरणमा अधिनायकबादी शैलीमा गुटको राजनीति गर्ने केही नेताहरुले एकलौटी ढंगबाट टिकट वितरण गरेकोले पार्टीको कुनै पनि पदमा नबस्ने गरी राजीनामा दिएको बताए ।
उनले पार्टीका खातिर निरन्तररुपमा बलिदानी दिएका जिम्मेवार साथीहरुलाई उपेक्षा गरेको भन्दै स्वतन्त्ररुपमा अगाडी बढ्ने निर्णयसमेत भएको बताए ।
भजनी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका आकाँक्षी पुर्व गाविस अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्यायले पार्टीले तानाशाही रुपमा गरेको निर्णयको विरुद्धमा पार्टीबाट राजीनामा दिएको बताए । सामूहिक राजीनामा दिनेहरुमा नगर सभापति रुद्रप्रसाद जोशी, महा समिति सदस्य सरिता उप्रेती, पूर्व क्षेत्रिय सभापति क्षेत्र नं. ३ तेजराम चौधरी, नगर सचिव टेकराज न्यौपाने, पूर्व जिल्ला कार्य समिति सदस्य प्रमोद उप्रतीलगायतका रहेका छन् ।


