‘राजपा नेपाललाई प्रधानमन्त्री चुन्दा संविधान संसोधन नचाहिने, मदेशका जनताले स्थानीय नेता चुन्दा संबिधान संसोधन गर्नु पर्ने ? यो कस्तो माग हो ?’ : प्रदिप ज्ञवाली (भिडियो सहित)
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राजपा नेपालले निर्वाचन विथोल्नेगरि घोषणा गरेको आन्दोलन स्वयम् राजपा नेपालको लागि प्रतित्युपादक रहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले भने,‘राजपा नेपालको निर्वाचन बहिष्कार गर्ने निर्णय दुःखद् छ, उहाँहरुको निर्णयले उहाँहरुलाई नै स्वयम घाटा छ, प्रत्यिुपादक छ।’ नेता ज्ञवालीले मधेशका जनताले समयमै निर्वाचन चाहेको र जनप्रतिनिधि चाहिएको बताउँदै भने,‘असार १४ गतेको दोस्रो चरणको निर्वाचनलाई प्रभावकारी बनाउनुपर्छ, उहाँहरुपनि असन्तुष्टिहरुको बावजुद चुनवमा जानुपर्छ।’
विगतमा संविधान सभाको निर्वाचन बहिष्कार गर्दा मोहन बैद्यले दुःखान्त नियती भोगेको उदाहरण पेश गर्दै भने,‘राजपा नेपाललेपनि पाठ सिक्नुपर्छ, त्यसैले राजपाको निर्णय स्वयम् जनताबाट टाढिने बाहेक अरु केही हुँदैन् ।’उनले आफूहरु संविधान संशोधनको कहिल्यैपनि विरोधी नभएको जिकिर गरे ।
उनले भने,‘हामी संविधान संशोधनको विरोधी होईनौं, तर के मुद्दामा संशोधन गर्ने ?’ उनले संशोधनमा उल्लेख भएका नागरिकता र भाषाको सवालमा आफूहरुको गम्भिर कन्र्सन रहेको स्पष्ट पारे । उनले भने,‘हतारमा अर्थात शर्तको रुपमा संविधान संशोधन गर्नुहुँदैन्।’
उनले यही संविधान अनुसार प्रधानमन्त्री निर्वाचन चयनमा मतदान गर्ने अनि फेरि यो संविधान संशोधन गर्नुपर्छ भनेर आन्दोलन गर्ने राजपा नेपालको तरिका आफूहरुलाई मन नपरेको भन्दै दुई खाले कुरा नगर्न सुझाव दिए ।


