‘एमालेलाई कसैले दौडेर जित्ने अवस्था छैन, तर छिर्के भने लगाउँछन्’ : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् ।

नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उनले भने, ‘स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।’

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उनले बताए ।

उनले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए । ‘अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ’, पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उनले भने ।

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताए । “संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ” – अध्यक्ष ओलीले थपे।

स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उनले भने, ‘तपाईंहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।’

अध्यक्ष ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गरे । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।