इटहरीमा यसरी फहराउँदैछ एमालेले विजयको झण्डा !

इटहरी, ३० जेठ । प्रदेश नम्बर १ को इटहरी उपमहानगरपालिकाको चुनावी रौनक रोचक बनेको छ । प्रदेशको सम्भावित राजधानीका रुपमा हेरिएको इटहरीमा विगतका निर्वाचनहरुमा भारी मतसहित विजयी हुँदै आएको नेकपा (एमाले)ले यस पटक पनि आफ्नो विजय कायम राख्ने दावीसहित प्रचार–प्रचारलाई आक्रमक बनाएको छ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र माओवादी पनि जित आ–आफ्नो पोल्टामा पार्ने तयारीसहित चुनावी अभियानमा खटेपछि त्यहाँ चुनावी अभियान तीब्र बनेको छ । इटहरीमा मेयरका लागि एमालेबाट द्वारिकालाल चौधरी, कांग्रेसबाट रोहित प्रसाईं र माओवादी केन्द्रबाट हरिमाया जिमी प्रतिस्पर्धामा छन् । ७७ हजार ६ सय ७७ मतदाता रहेको इटहरीमा थारु समुदायको संख्या २७ हजार १ सय छ ।

ठूलो मतदाता समूह रहेको थारु समुदायबाट एमालेले उम्मेदवार बनाएपछि यस उप–महानगरपालिकामा फाइदा हुने विश्वास गरिएको छ । इटहरीका लोकप्रिय कांग्रेस नेता हेमकर्ण पौडेललाई टिकट नदिएर प्रसाईंलाई टिकट दिएपछि अहिले पार्टीभित्रै लफडा भएको छ ।

टिकट नपाएको झोकमा पौडेल समूहले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी र सडक आन्दोलनसमेत गरेपछि दोस्रो शक्तिका रुपमा रहेको कांग्रेस थप समस्यामा परहेको छ । त्यति मात्र होइन, नेविसंघका क्षेत्रीय सभापति टंक दाहालले पार्टीबाटै राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बन्ने चर्चाले कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

एमालेबाट उम्मेदवार बनेका द्वारिकलाल चौधरी पार्टीक्ँ सुनसरी जिल्ला अध्यक्ष हुन् । एमालेभित्र लोकप्रिय छवि बनाएका चौधरी ०४९ र ०५४ सालमा हाल इटहरी उपमहानगरपालिकामा पर्ने हाँसपोसा गाविसका अध्यक्ष निर्वाचित भइसकेका छन् । अहिले हाँसपोसासँगै पोकली, एकम्दा र खनार गाविसलाई पनि इटहरी उप–महानगरपालिकामै गाभिएको छ । चौधरी आफ्नो समुदायमा पनि निकै चर्चित छन् । पार्टीमा सबैले रुचाएका नेता चौधरीले यो पटक शानदार जित हात पार्ने धेरैको अनुमान छ ।

पूर्वमेयर सर्वध्वज साँवाको समेत राम्रो साथ पाएका चौधरी स्वयम्ले पनि आफू जितको नजिक पुगेको दाबी गरेका छन् । ‘बहुदलपछिका सबै स्थानीय निकायमा इटहरीबाट एमालेले जित्दै आएको छ,’ एमालेका तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा इटहरीबाटै सभासद् जितेका रेवतीरमण भण्डारीले पहिलो न्युजसँग भने, ‘०५४ को स्थानीय निर्वाचनमा मैले त्यहीबाट विपक्षीको भन्दा दोब्बर मतसहित उप–मेयर जितेको हुँ ।’

सांसद भण्डारीले ०६४ र ०७० दुवै निर्वाचनमा पनि एमालेले इटहरीमा भारी मतान्तरले जितेको स्मरण गरे । ‘मैले संविधानसभाको दोस्रो निर्वाचनमा ७ हजार १ सय ३१ मत बढी ल्याएर जितेको हुँ,’ भण्डारीले भने, ‘त्यही जनअधार भएको इटहरीमा एमालेले हारको कल्पना पनि गरेको छैन ।’ उम्मेदवार चयन गर्ने बेलामा पनि जातीय, क्षेत्रीय र भाषिक सन्तुलन मिलाएको भन्दै सबै वडामा समेत भारी मतले जित्ने दाबी गरे ।

अहिलेका मेयरका उम्मेदवार समेत आफ्नो समुदायमा निकै लोकप्रिय भएको भन्दै जितको आधार बलियो भएको उनले दाबी गरे । चौधरी समुदायले राम्रो पत्याएका द्वारिकलालले आफ्नो क्षेत्रबाट भारीमत ल्याउने आँकलन एमालेको छ । ‘कांग्रेस–माओवादीका साथीहरुले पनि जित्ने दाबी गर्नुभएको छ,’ भण्डारीले भने, ‘उहाँहरुको दावी चुनावी कुरा हो । तर, जित एमाले बाहेक कसैको हुँदैन ।’ एमालेले उप–मेयरमा लक्ष्मी गौतमलाई उठाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।