धनकुटाका रोशनको शव अझै कतारमै, नेपालमा पाउने परिवारको आश !

धनकुटा, जेठ ३१ । कतारमा ज्यान गुमाउनु भएका धनकुटाको महालक्ष्मी नगरपालिका ४ का २२ वर्षीय रोशन बुढाथोकीको शव २० दिन भइसक्दा पनि परिवारले पाउन सकेका छैनन् ।

बैदेशिक रोजगारीका लागि ६ महिना अघि कतार पुग्नु भएका बुढाथोकीको गत जेठ १० गते मृत्यु भएको थियो । बुढाथोकी सुतेकै स्थानमा मृत भेटिनु भएको थियो । त्यहाँका चिकित्सकले भने हृदयघातका कारण मृत्यु भएको जानकारी बुढाथोकी कार्यरत कम्पनीलाई दिएका छन् । मृत्यु भएको लामो समयसम्म पनि शव ल्याउनका लागि कसैले सहयोग नगरेको गुनासो आफन्तको छ ।

कतारमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका ४ का २२ वर्षीय रोशन बुढाथोकी । – अन्नपूर्ण पोष्ट ।

मृत्युको विषयलाई लिएर परिवार शोकाकुल रहे पनि शव भने अझै नेपाल पठाउन नसकिएको कतारमै रहनु भएका आफन्त राजेश बुढाथोकीले बताउनु भयो । ‘रोजगारीका लागि कतार आईपुगेका रोशनको यहीं निधन भयो,’ राजेशले भन्नु भयो, ‘शव नेपाल पठाएर अन्तिम दाहसंस्कार गर्ने परिवारको इच्छा पूरा हुन सकिरहेको छैन ।’ उहाँका अनुसार शव नेपाल पठाइदिन सहयोग गर्न धेरैलाई आग्रह गरिसकियो तर सुनुवाई भएको छैन ।

रोशनको शव लिएर नेपाल आउने तयारी गरेपनि कतारस्थित नेपाली राजदूतावासले सहयोग नगरेको राजेशको भनाइ छ । परिवारमा अझै रुवाबासी छ । मृत्युको खवरसंग परिवारका सदस्य र आफन्तको आँखा ओभानो हुन सकेका छैनन् ।

आफन्तले भने शव तत्काल नेपाल ल्याइदिन आग्रह गरेका छन् । परिवारका अनुसार दर्वेज कम्पनी तनय ४१ मा सुरक्षागार्डको रुपमा काम गर्ने रोशन कतार गएको ६ महिना मात्र भएको थियो । राजेशले नेपालमा रहेका आफन्त र परिवारका सदस्य रोशनको अन्तिम संस्कार कुरेर बसिरहेको बताउनु भयो ।

उहाँले कतारस्थित नेपाली दूतावासमा दिनहुँ सम्पर्क गरेर शव नेपाल पठाउने सन्दर्भमा कुरा गरिरहे पनि दूतावासका कर्मचारीले चासो नदिएको बताउनु भयो। ‘दूतावासका कर्मचारी काम हुन्छ मात्र भन्छन्,’ राजेशले भन्नु भयो, ‘तर मृत्यु भएको १९ दिनसम्म शव कतारमै छ ।’ दूतावासका कर्मचारीले कुनै पनि कूटनीतिक पहल नगर्दा समस्या झेल्नु परेको र परिवारका सदस्य प्रताडित भएर बस्नु परिरहेको उहाँको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले भने मृतकको शव चाँडो गरेर नेपाल झिकाउने जनाएको छ । ‘जति सक्दो शव ल्याउन हाम्रोतर्फबाट पहल हुनेछ,’ पराष्ट्र मन्त्रालयका कर्मचारी तीर्थराज वाग्लेले भन्नु भयो, ‘तत्काल यस विषयमा कतार स्थित नेपाली राजदूतावासलाई पत्र पठाएर शव चाँडो नेपाल ल्याउने वातावरण बनाउने छौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।