यस्तो छ ओलीले इटहरीमा गरेको सम्बोधन… : एमालेले के गर्यो ?, उभ्रिएको भोट कसलाई दिने ? कांग्रेसलाई भोट बाँदरलाई नरिवल…

इटहारी नगरलाई हामीले आहा नगर ! भन्ने उद्धेश्य साकार पार्नु छ । यहाँ हाम्रो सर्वध्वज साँवा उम्मेदवार हुनुहुन्छ । अघि मैले यहाँ कति भोट आउँछ भनेर सोधेँ । उहाँले १५ हजार यहाँ यो सभामा छौं, १५ हजार घरमा छन् । ३० हजार भोट आउँछ भन्नु भो । २० हजार भए जितिन्छ, बाँकी भोट कसलाई दिने ?

कांग्रेसलाई भोट बाँदरलाई नरिवल
हामीसँग चुनावी प्रतिस्पर्धामा आउने कांग्रेस होला । तर, कांग्रेसलाई भोट किन दिने ? ००७ साल देखि कांग्रेसले बहुमत ल्यायो । त्यसबेला पनि २ वर्ष टिकाउन सकेन । ०४८ मा कांग्रेसले बहुमत ल्यायो, २ वर्ष पनि सरकार चलाएन आफैंले ढाल्यो, माओवादी हिंसा निम्त्यायो । ०५६ मा बहुमत ल्यायो, ५९ सालमा असोज १८ गतेको काण्ड ल्यायो । ६१ सालमा माघ १९ को काण्ड ल्यायो । बहुमत दियो कि लोकतन्त्र दरवारमा पुर्याउँछ । किन दिने कांग्रेसलाई ? कांग्रेसलाई दिनु भनेको त बाँदरका हातमा नरिवल दिनुजस्तो हो । अव एमाले मजबुत छ देशमा प्रतिगमन हुन सक्दैन ।

एमालेले के गर्यो ?
एमालेको फेला परेपछि नाकाबन्दी ध्वस्त भयो । एमालेको नेतृत्वमा बनेको सरकारले अव उप्रान्त नेपालमा नाकाबन्दी हुन नसक्ने बनायो । हामीले उत्तरतिरबाट पनि बाटो खोलेका छौं अव नाकाबन्दीको समय गयो । हामी अव एकतिर मात्र निर्भर छैनौं ।

गतवर्ष एमालेको सरकार बन्दा तराई अस्तब्यस्त थियो । सीमानामा नाकाबन्दी थियो । चुलोमा ग्यास पाइंदैनथ्यो । गाडीमा हाल्ने तेल पाईंदैनथ्यो । अस्पतालमा औषधी पाइंदैनथ्यो । अस्पताल जान गाडी पाईंदैनथ्यो । गागिर खान जान बाइकमा पेट्रोल छैन । केही पनि छैनको अवस्था थियो । तर, त्यसलाई नेकपा एमालेको सरकारले खुलायो । भारत भ्रमणमा गएर कलकत्ता मात्र होइन बिशाखापटनम बन्दरगाह पनि लियो । बंगलादेशबाट पनि सामान ल्याउन सहज बनायो । चीनसँगको सम्झौता गर्यो । अव चीनको सिगात्से, जहाँ रेल आएको छ । त्यहाँबाट सजिलोसँग किमाथांका हुँदै केही वर्ष भित्र चार लेनको बाटो धरान जोडिन्छ । चार लेनको बाटो धरान जोडिएपछि भारतको ठूलो वजार, चीनको ठूलो वजार, पूर्वपट्टी बंगलादेश, जता पनि हामी आफ्नो ब्यापार गर्न सक्छौं । हामीसँग मध्यपहाडी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, पूर्वपश्चिम रेल हुनेछन् । तपाईंहरुले फेरि भोलिपर्सी सुन्नुहुनेछः– कांग्रेसहरु रेल भनेपछि छट्पटाउँछन् ।

कांग्रेसको माया लाग्छ
गतवर्ष मैले पूर्वपश्चिम रेल योजनामा राखेँ, कांग्रेसहरु आत्तिए, आत्तिन्छन् । मलाई कांग्रेसको अलिकति माया पनि लाग्छ । कुनै पनि चिजको एउटा समय हुन्छ । बुढापाकाहरुसँग भेट्नु भो भने भन्नुहुन्छ– यति त म उहिल्यै नाघ्थेँ । उहिल्यै त हो नि, नाघ्नुहुन्थ्यो । अलिकति केही उठाउनु पर्यो भने यो त म सजिलै उठाउँथेँ । उठाउँथेँ । उठाउँछु होइन । त्यति त म खुरर्र खुद्थेँ, अहिले होइन । नेपाली कांग्रेस त्यस्तै पुराना कुरा सम्झिन्छ । कुनै पनि चिजको समय हुन्छ । त्यो समयले कांग्रेस बुढो भइसक्यो, नेपाली कांग्रेससँग कुनै सोच छैन ।

खिया लागेको बञ्चरो अव चल्दैन
तपाईंहरुले त्रेता युगको रामायणको कथा हेर्नु भो भने थाहा पाउनुहुन्छ । भगवान विष्णुका दशवटा अवतार छन् । त्यस्ता अवतार मध्ये एउटा पर्शुराम । पर्शुराम बञ्चरो लिएर दुनियाँमा तहल्का मच्चाएर हिंड्थे । सबै भन्दा बलवान, कसैले केही गर्न नसक्ने । रामले जनकपुरमा धनुष भाँचे । भाँचियो धनुष उठाउँदा । पर्शुराम आइपुगे । उनले राखेको धनुष थियो त्यो । मैले राखेको धनुष किन भाँचेको भनेर झम्टिए रामलाई । बञ्चरो हान्न खोजे । बञ्चरो काम लागेन । अनि उनले सम्झिए कुनै पनि चिजको एउटा समय हुन्छ । उनी एउटा अवतार थिए, अर्काे अवतार आइसकेपछि त्यो अवतारको शक्ति खैचिएर राममा गयो । अर्काे नयाँ अवतार चाहीँ राम थियो । अनि पर्शुरामलाई लक्ष्मणले भनेः गुरुजी, अव धनुषको जमाना आयो, खिया लागेको थोत्रो बञ्चरो बोकेर बुढेसकालमा नहिंड्नुस् । अव रामको जमाना आयो । म कांग्रेसलाई भन्छुः अव नेकपा एमालेको जमाना आयो । कांग्रेस खिया लागेको थोत्रो बञ्चरो बोकेर १५ सालको कहानी सम्झेर हिंड्या छ । नयाँ जमाना आएको उसलाई थाहा छैन ।

यस नयाँ जमानामा अव राजनीतिक काम मात्रै होइन, सामाजिक आन्दोलन, समानताको आन्दोलन, न्यायको आन्दोल, राष्ट्रिय एकताको आन्दोल, देशको स्वाभीमान, स्वाधीनता र हितहरुको रक्षाको आन्दोलन अनि देशलाई समृद्धिमा लाने आन्दोलन एकैचोटी एकीकृत रुपमा चलाउनु पर्नेछ ।
हाम्रा पूर्खाले लडेर बचाएको देशलाई तलमाथि पर्न दिनु हुँदैन । एमाले कुनै पनि छिमेकीको विरोधमा छैन तर, हामी हाम्रो स्वाधीनता र स्वाभीमानमा अरुको कुरा मान्दैनौं । हाम्रा निर्णय हामी गर्छाैं ।

कांग्रसले भोलिको कुरा गर्दैन
हाम्रो देशमा हामी लोकतन्त्रका लागि लडेका थियौं । कांग्रेसले गफ त गर्छ । तर, कांग्रेसलाई म माइकबाट बोलेर सोध्न चाहन्छु– म लोकतन्त्रका लागि लगातार १४ वर्ष जेल बसेको छु, कांग्रेसमा यस्तो कोही छ ? एमालेमा २० वर्ष भूमिगत हिंडेका नेता छन्, कांग्रेसमा कोही छ ? कांग्रेसले आजको कुरा गर्न सक्दैन, हिजोका कुरा गर्छ । अगाडिका कुरा गर्न सक्दैन, पछाडिका कुरा गर्छ । वितेका कुुरा गर्छ भविश्यका कुरा गर्न सक्दैन । हिजोका कुरा गर्छ, आजका कुरा पनि गर्दैन, भोलिका त कुरै छोडौं । अगाडितिर कांग्रेसको दृष्टि हुँदैन । अगाडिको दृष्टिका लागि प्लस पावरको चस्मा लगाउनु पर्छ । फेरि दिमाग नै कमजोर भएपछि चस्माले काम गर्दैन । देश बनाउन कांग्रेसको विचार छैन, नीति छैन ।

रेलको योजना ल्याउँदा खेलौना रेल
हामीले पूर्वपश्चिम रेल बनाउने भन्दा खेलौना रेल ल्याएर वालुवाटारमा सरकारी निवास अगाडि तमासा गर्यो । अप्ठ्यारो मानी मानी यसपाली चुनावी घोषणा पत्रको अघिल्लो पानामा रेलको चित्र छापेछ । हामीलाई अनेक कुरा भन्छ उसले । सन्तुलित सम्बन्ध राख्नु पर्ने भन्छ । अनि एउटा देशमाथिको निर्भरता राख्न खोज्छ । हामी दुईटै छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्छौं । दुईटै छिमेकी देशहरुसँग हाम्रो आवागमन, पारवहन, ब्यापार सवै चिज एउटा सार्वभौम राष्ट्रको हैसियतले हुन्छ । हामीले केरुङबाट बाटो खोल्यौं, किमाथांकाबाट हामी चार लेनको बाटो बनाउँदैछौं । हामी पूर्वाञ्चलमा ओलाङचुंगोलाबाट पनि बाटो खोल्छौं, ताक्लाकोटको बाटो चलाउँछौं । उत्तरतिर पनि दक्षिणतिर पनि हाम्रो ब्यापार हुन्छ । कांग्रेस यसले आत्तिन्छ ।

चकलेट बेच्न किन हुँदैन ?
हामी कृषिलाई औद्योगिकरण गर्छाैं । न्युजिल्याण्डले चकलेट बनाएर बेच्न हुन्छ हामीले चकलेट बनाएर बेच्न हुँदैन ? हामीले चाहिँ किनेरै मात्र खानु पर्ने ? यसो भन्दा कांग्रेसलाई रिस उठ्छ । नेकपा एमाले यहाँ रोजगारीका अवसर सिर्जना गर्छ, कृषिको आधुनिककीकरण गर्छ, पशुपालनलाई आधुनिक बनाउँछ, मत्स्यपालना गर्छ, पोल्ट्री गर्छ, अरु विभिन्न ब्यवसाय गर्छ । दुनियाँले गर्न हुन्छ नेपालले गर्न हुँदैन ? यति उर्भर भूमिमा नागरिकले खान नपाउने लाजमर्दाे कुरा होइन ? हामी समृद्ध नेपाल बनाउँछौं । त्यही गर्नका लागि एमाले चाहिन्छ । त्यही गर्नका लागि एमालेलाई जिताउनु पर्छ । पहिलो चरणमा हाम्रो अपेक्षा अनुसार भएन । कहीँ बुथकब्जा, कहीँ मत च्यात्ने गरे । त्यति गर्दा पनि एमाले अगाडि नै छ । अव दोस्रो चरणको चुनावमा हामी ठूलो अन्तरले अगाडि हुनेछौं । तपाईंहरुले झुठा, नक्कली कुरा बुझ्नु भएको छ । हाम्रो जीत त लगभग भइसकेको छ । अव १४ गते मत खसाएर दुई चार दिन गन्न लगाएर रित पुर्याउन बाँकी छ । बैशाख ३१ बाट असार १४ पुर्याउँदा पनि हामी पख्र्याैं ।
(ओलीले शनिवार इटहरीमा गरेको सम्बोधनको अंश)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।