एमाले ले जीतको प्रमाणपत्र लिन मात्रै बाँकी रहरेको बताउँदै ओलीले भने,- तर ढुक्क नहुनुस् बाँदरजस्तै बुर्लुक्क उफ्रेर मतपत्र च्यात्नेहरु पनि यहीँ छन्

बुटवल, ११ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै सामना गर्ने सामथ्र्य कांग्रेससँग नभएको वताएका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस थाकेको गाई र माओवादी त्यसको बाच्छोजस्तो भएर हिंडेको वताएका हुन् ।

‘कांग्रेससँग एकताका बैंश थियो तर, त्यो बैंश हरायो । बुढो मान्छेले म जवानीमा यस्तो बोझ उठाउँथेँ भनेजस्तो कांग्रेस भन्छ– म जित्थेँ । कांग्रेस थाकेर बुढो भएको गाईजस्तो भएको छ’ ओलीले भने, ‘माओवादीको त के कुरा गर्नु ? उसको फाईफुट्टी समाप्त भयो । कांग्रेसको बाछो बनेर पछिपछि हिंडेको छ । सिंगो देश बदल्छु भन्थ्यो । कांग्रेसको कवाड बोकेर हिंडेको छ ।’

पहिलो चरणको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको वताउँदै दोस्रो चरणको निर्वाचनमा कांग्रेस र माओवादीले सबै तहमा प्रमुखको उम्मेदवार बनाउने मान्छेसमेत नपाएको वताए । ‘पहिलो चरणको निर्वाचनमा एमाले पहिलो बन्यो, दोस्रो चरणको निर्वाचनमा हामीले ३३४ वटै स्थानीय तहमा प्रमुखको उम्मेदवारी दिएका छौं’ ओलीले भने, ‘कांग्रेसले १० ठाउँमा प्रमुखको उम्मेदवार नै पाएन, माओवादीको त आधाजसो ठाउँमा मात्रै उम्मेदवार छन् ।’

बाँदर जस्तै उफ्रेर च्यात्लान्
बुटवल उपमहानगरपालिकाका एमाले उम्मेदवारहरुले जीतको प्रमाणपत्र लिन मात्रै बाँकी रहरेको जनाउँदै ओलीले मतगणना नभएसम्म चनाखो रहन पनि आग्रह गरे । ‘भोट हालेर गनेर विजय घोषणा गर्ने प्रक्रिया पुर्याउन मात्रै बाँकी छ’ ओलीले भने, ‘तर ढुक्क नहुनुस् बाँदरजस्तै बुर्लुक्क उफ्रेर मतपत्र च्यात्नेहरु पनि यहीँ छन् । जनताले भोट दिंदैनन् भन्ने थाहा पाएर राज्यबाट नौ अर्व रकम लिएर बाँड्न आउने पनि यहीँ छन् ।’

तर जनताले एमाले बाहेक अरुलाई भोट दिन नसक्ने उनले वताए । ‘माओवादीका अनेकजाति मिडियाले सर्वे भन्दै यति सिट र उति सिट आउँछ भनेर माओवादीले नै भनेका डाटा छापिरहेका छन्’ ओलीले भने, ‘जनताले कसलाई कति सिट दिन्छन्, पहिलो चरणको निर्वाचनबाटै संकेत गरेका छैनन् र ?’ उनले कांग्रेस र माओवादीलाई भोट हाल्नु पर्ने कुनै कारण नभएको वताए । ‘जनताले अहिले भोट दिनु पर्ने पार्टी एमाले बाहेक कुनै छ ? एमालेलाई भोट नदिएर अरुलाई भोट दिनु पर्ने कुनै कारण छ ?’ ओलीले भने, ‘देशको हित, स्वाभीमानको पक्षमा उभिन्छ एमाले, अखण्डताको रक्षा गर्छ एमाले, समृद्धिको खाका कोर्छ एमाले ? मिलेर बसेका जनतालाई फुटाउनु हुँदैन भन्छ एमाले । फुटाउनु पर्छ भन्छन् कांग्रेस र माओवादी । एमालेलाई भोट नदिएर कांग्रेस र माओवादीलाई भोट दिन सक्नुहुन्छ ?’

सरकार किन ढालेको थाहा भो ?
ओलीले देशभक्त सरकार किन परिवर्तन गरिएको थियो भन्ने ५ नम्बर प्रदेशका जनताले बुझेको पनि वताए । ‘देशभक्त सरकारलाई अनेकथरी शक्ति मिलेर परिवर्तन किन गरेको रहेछ ? तपाईंहरुले थाहा पाउनु भयो’ ओलीले भने, ‘५ नम्बर प्रदेश छुट्याउन । नेपालमा विकास हुन नदिने, एकतावद्ध हुन नदिन । तर, तपाईंहरु सडकमा उत्रनु भयो । धन्यवाद छ ।’

शेरबहादुर रिसाए
लोकतन्त्रका लागि १४ वर्ष अनवरत जेल बसेका र २० औं वर्ष संघर्ष गरेका नेता एमालेमा हुँदा हुँदै कांग्रेसले प्रजातन्त्र ल्याएको भनी गरिएको टिप्पणीप्रति ओलीले कटाक्ष गरे । ‘अस्ती शेरबहादुर रिसाउनु भयो । ०४६ सालको जनआन्दोलनका बेला लण्डनका गल्लीमा हल्लिरहनु भएको थियो भनेर मैले भन्या थिएँ’ ओलीले भने, ‘उहाँ रिसाउनु भएको रैछ, मैले भेट हुँदा फेरि सोधेँ– यहाँ आन्दोलन हुँदा लण्डनमा घर भित्रै हुनुहुन्थ्यो कि बाहिर ?’

कांग्रेस र माओवादीले लोकतन्त्रका आधारभूत सिद्धान्त र लोकतान्त्रिक संस्थामाथि निरन्तर प्रहार गरेको वताउँदै ओलीले लोकतन्त्रको रक्षा गर्न एमालेले जित्नु पर्ने वताए । ‘कांग्रेसमा प्रजातन्त्रका लागि १४ वर्ष जेल बसेको कोही छ ? होला बनारसतिर गएर बसे होलान् । देशभित्रै बसेर २० औं वर्ष संघर्ष गर्ने कोही छ ?’ ओलीले भने, ‘लोकतन्त्र आएपछि पनि लोकतन्त्रका आधारभूत सिद्धान्त र संस्थाहरु भत्काउने कांग्रेस र तिनलाई रक्षा गर्ने एमाले एमाले हो । हामीले भनेको नमान्ने भनेर प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पार्टी लोकतन्त्रको पक्षमा हुन्छ ?’

ओलीले सरकारमा रहेका कांग्रेस र माओवादीलाई एमालेले कठालोमा समातेर चुनावमा ल्याएको वताए । एमालेको निरन्तरको दवावले मत्र उनीहरु चुनाव गर्न वाध्य भएको ओलीको दावी थियो । ‘यो चुनाव हुँदैनथ्यो । यो सरकारलाई कठालो समातेर हामीले ल्याएका हौं चुनावमा’ ओलीले भने, ‘मन नलागी नलागी बैशाख ३१ गते चुनाव घोषणा गरे, चुनाव हुने नै भयो भनेपछि दुई चरणमा बाँडे । जेठ ३१ गते गर्ने भने । फेरि सारे असार ९ गते भने । अनि १४ गते । त्यसबाट पनि प्रदेश नम्बर २ मा सारियो । तयारी पुगेन रे कांग्रेसको ।’

रेलले कांग्रेसको टाउको दुख्छ
ओलीले चुनावका बेला आएपछि चुनाव जित्ने अरुबेला राज्यको स्रोत साधनमा रजाईं गर्नै बाहेक कांग्रेससँग विकासको कुनै सोच र योजना नभएको वताए । ‘हामीले केरुङ काठमाडौं, पोखरा लुम्बिनी रेल्वेको योजनामा अघि बढ्यौं । पूर्वपश्चिम रेल्वेको योजनामा अघि बढ्यौं । राजमार्ग फराकिलो बनाउने योजना बनायौं’ ओलीले भने, ‘कांग्रेसलाई टाउको दुख्यो, वालुवाटार अगाडि गुडिया ल्याएर गुडाउन थाल्यो । अहिले घोषणा पत्रको गातामा रेलको चित्र टँसेको रैछ । काम गर्न होइन त्यो, भ्रम पार्न । गर्न खोज्दा विरोध गर्नेले काम गर्दैन ।’

देशहित विपरित संशोधन हुँदैन
ओलीले संविधान संशोधन कहिल्यै हुन नसक्ने भनेर आफूले नभनेको तर, देश, लोकतन्त्र र जनताको हित विपरित संशोधन गर्न नदिने वताए । ‘प्रधानमन्त्री बन्नु भन्दा अगाडि कसकसले कोकोसँग कपाली तमसुक गरेका थिए त्यस अनुसार संविधान संशोधन हुँदैन’ ओलीले भने, ‘संविधान संशोधन गर्नु परे यहाँको आवश्यकताले, राष्ट्रको हित हुनेगरी, लोकतन्त्रको हित हुनेगरी र जनताको हित हुनेगरी मात्रै हुन्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।