चीनको जनमुक्ति सेनाले ‘कुनै भ्रम नपाल…’ भन्दै भारतलाई दियो अहिले सम्मकै सबैभन्दा कडा सन्देश !
काठमाडौं, ९ साउन । डोक्लाम विवादमा चीनको जनमुक्ति सेनाले अहिलेसम्मकै सबभन्दा कडा वक्तव्य जारी गरेर ‘जुनसुकै मूल्यमा पनि चीनको सार्वभौमसत्ताको सुरक्षा गर्ने’ बताएको छ र समस्या समाधानका लागि भारतीय सेना पछि हट्नुपर्ने माग गरेको छ ।

घटनामाथि प्रतिक्रियाका लागि आपत्कालीन उपाय आफूले अपनाएको र विवादित क्षेत्रमा थप तैनाथी गर्ने बताएको छ ।
अगस्ट १ मा पीएलएको ९०औं वार्षिकोत्सव पर्छ र त्यसअघि एउटा विशेष ब्रिफिङमार्फत पीएलएले डोक्लाम विवादमा कडा सन्देश दिँदै भारतलाई कुनै भ्रम नपाल्न भन्यो ।
‘पीएलएको विगत ९० वर्षको इतिहासले हामी सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सुरक्षा गर्न दृढ रहेको तथा हाम्रो क्षमता र दृढता अदम्य रहेको देखाउँछ,’ वरिष्ठ कर्नेल वु कियानले बताए । उनी रक्षा मन्त्रालयका प्रवक्ता हुन् ।
वुले डोक्लाम पठारमा चीनले गरेको सडक निर्माणको रक्षा गरे । डोक्लामलाई चीन दोङलाङ भन्छ । आफ्नो भूमिमा सडक बनाउनु चीनको अधिकार भएको र भारतले सीमाबाट तत्कालै सैनिकहरू हटाउनुपर्ने उनले बताए ।


