अब कतारले नेपाली कामदार लान बन्द गर्यो, यस्तो छ कारण…

काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ। कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन्। केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन्। यो खबर सन्तोष घिमिरेले आजको अन्नपूर्णमा लेखेका छन्।

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ। ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो। केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्’, कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने। तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन।

राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए। ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन। उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन’, उनले भने।३० नेपालीको रोजगारी गुम्यो

तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ।कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ। उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ। ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए। उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन्। कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ। कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन्।

साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्द शर्माले कतारी नागरिकले सञ्चालन गरेका कम्पनीमा केही नेपालीको रोजगारी संकटमा परेकोबारे बुझ्ने काम भइरहेको जानकारी दिए। ‘हामी ती नेपाली साउदीमा कहाँ कुन अवस्थामा छन् पत्ता लगाएर उद्धार गर्न प्रयास गर्नेछौं’, उनले भने।

कतारका नागरिकले चलाएका कम्पनीमा नेपाली समस्यामा परेको सम्बन्धमा दोहास्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराएको उनले बताए। ‘यसरी समस्यामा परेका नेपालीले हामीसँग सम्पर्क गरेका छैनन्। आफ्नै ढंगले उनीहरूको जानकारी लिन प्रयासमा छौँ’, शर्माले अन्नपूर्णसँग भने।

कतारमाथि नाकाबन्दी लगाउँदै आएको प्रमुख मुलुक साउदीले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै कतारमाथि हवाई र जमिनबाट आवागमनमा रोक लगाएको छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले ५ जुनदेखि कतारमाथि नाकाबन्दी गरिरहेका छन्। कतारले आतंकवादलाई प्र श्रय दिएको आरोप ती मुलुकले लगाए पनि उसले त्यसको खण्डन गरेको छ।

श्रम स्वीकृति लिनेको संख्या घट्यो

वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ।मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए।

‘कतार संकटका कारण श्रम स्वीकृति लिने कामदारको संख्या घटेको हुन सक्छ’, उनले भने, ‘म्यानपावर कम्पनीले केही कतारी कम्पनीले कामदारको माग गर्न छाडेको हामीलाई बताउने गरेका छन्।’

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेदको घोषणा गरेपछि त्यहाँका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासलाई सरकारले एक महिनाअघि निर्देशन दिएको थियो।

दूतावासले नियमित रूपमा मन्त्रालयलाई कतार संकटबारे अवगत गराइरहेको परराष्ट्रमा खाडी मामिला हेर्ने सहसचिव तीर्थराज वाग्लेले बताए। अहिलेसम्म कतारमा नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको उनले बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।