भारतीय पत्रिकाले लेख्यो,- गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ

काठमाडौं । टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टका अनुसार भारतीय सीबीआईले ‘भगौडा’ भनेपनि एक जासूसी प्रतिवेदनले निकोल तामाङलाई गोर्खा जनमुक्ति मोर्चा र नेपालमा रहेको माओवादी गुटबीचको सम्पर्क व्यक्तिका रूपमा हेरेको छ । सन् २०१० मा भएको मदन तामाङको हत्याको मुद्दामा आरोपित निकोल सीआईडीको हिरासतबाट भागेका थिए ।

जासूसी प्रतिवेदनअनुसार तामाङले माओवादी नेता मोहन वैद्यले नेतृत्व गरेको गुटसँग सम्पर्क गरेका छन् । उक्त गुटले गोर्खा लिबरेसन आर्मी (जीएलए) र गोर्खाल्यान्ड पर्सनेल (जीएलपी) लाई तालिम दिइरहेको अनि हतियार आपूर्तिको प्रतिबद्धता जाहेर गरेको आरोप टाइम्स अफ इन्डियाले लगाएको छ ।

गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले यस्ता आरोपलाई ‘खराब नियतसहितको प्रचारबाजी’ भन्दै लगातार खण्डन गरिरहेको छ । मोर्चाले प्रहरीलाई आरोप पुष्टि गर्ने प्रमाण देखाउन चुनौती दिएको छ ।

जासूसी प्रतिवेदनले जीएलपीका दुई समूहलाई माओवादी गुटले महाभारतको तल्लो भेगमा स्थित धरान बजारनजिकैको घना जंगलमा हतियार तालिम दिइरहेको समेत उल्लेख गरेको छ । ‘गोजमो नेतृत्वको आन्दोलनले नेकपा (क्रान्तिकारी माओवादी) बाट बलियो साथ पाइरहेको प्रशस्त प्रमाण भेटिएका छन् । अनि देशलाई अस्थिर बनाउन अन्य विदेशी तत्त्वको पनि प्रभाव छ । हामीहरू यस विषयमा सूचना संकलन गरिरहेका छौं,’ एक अधिकारीले बताए ।

प्रतिवेदनअनुसार गोजमोले आर्थिक अभाव र हतियारको कमी बेहोरिरहेको थियो । स्रोतहरूका अनुसार अहिले उनीहरूलाई करीब दुई लाख गोली आवश्यक छ । विशेषगरी स्नाइपर, इन्सास र एके–४७ का गोलीहरू उनीहरूलाई चाहिएको र उत्तरपूर्वमा सक्रिय विद्रोही समूहहरूबाट उनीहरूले किनेको संकेत पाइएको छ । तर भौगोलिक अप्ठ्याराका कारण उनीहरूले हतियार पाएका छैनन् ।

यही समयमा गोजमोको शीर्ष नेतृत्वसँग नजिक मानिएका निकोलले उनीहरूलाई सहयोग गर्दै दुई समूहबीच पुलको काम गरेको प्रतिवेदनले दाबी गरेको छ । निकोल सन् २०१० मा पिन्टेल गाउँबाट सीआईडीको हिरासतबाट भागेका थिए । टाइम्स अफ इन्डियाले जनाए अनुसार सीबीआईले उनी नेपालमा लुकेर बसेको आरोप लगाएको छ । – न्यूज24बाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।