काठमाडौ परिसरमा को आउदैछन् एसएसपी ?, ११ एआईजीलाई कहाँ राख्ने ?
काठमाडौ परिसरमा को आउदैछन् एसएसपी ?
काठमाडौं, २१ साउन । प्रहरीमा उच्च पदमा बढुवा भएसँगै पदस्थापन र ठुलो संख्यामा सरुवाको तयारी सुरु भएको छ । एआईजीदेखि डिएसपीसम्मको पदस्थापन भएको छैन ।
त्यस्तै बढुवाका कारण केही महत्वपूर्ण पदहरु रिक्त भएका छन् । जसमध्ये् महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखका लागि ठुलो दौडधुप छ । परिसर प्रमुख रहेका छविलाल जोशी डिआईजीमा बढुवा भएपछि पद रिक्त भएको हो । जसमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले हालै बढुवा भएका एसएसपीहरु प्रद्युम्न कार्की, उत्तम सुवेदी र दिवेश लोहनीको नम प्रस्ताव गरेको स्रोत बताउछ । अपराध महाशाखाका एसएसपी दिनेश अमात्यविरुद्ध पनि धेरै उजुरी आएकाले उनलाई पनि हटाउने तयारी भइरहेको छ ।
काठमाडौं परिसरका लागि धनश्याम अर्याल, हरि पाल लगायतका एसएसपीहरु पनि शक्तिकेन्द्र धाइरहेको स्रोत बताउछ ।
११ एआईजीलाई कहाँ राख्ने ?

बिहिबार बढुवा भएका नेपाल प्रहरीका ११ जना एआइजीले शुक्रबार दज्र्यानी चिह्न पाए । तर, उनीहरूको जती खुशी हुनुपर्ने हो, त्यती छैनन् । किनकी बढुवापछि फेरी पदस्थापनका लागि पनि उनीहरु नेताहरुको घर चहार्न व्यस्त छन् ।
गृहलाई पनि एआईजीको पदस्थापनमा समस्या परेको छ । हाल एआइजीका दरबन्दी भएका सातवटा मात्र विभाग तथा कार्यालय छन् । तर, ११ जना एआइजी भएकाले उनीहरूलाई कहाँ खटाउने भन्ने अन्योल उत्पन्न भएको छ । गृह मन्त्रालयले प्रहरीलाई संघीय संरचनामा रूपान्तरण गर्ने योजनासहित एआइजीको दरबन्दी ११ बनाएको थियो । तर, संघीय प्रहरीसम्बन्धी ऐन–कानुन बनिनसकेकाले तत्काल उनीहरूको पदस्थापनमा समस्या भएको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मिङमार लामा, रणबहादुर चन्द, विजय भट्ट एआइजीमा बढुवा भएका छन् । उनीहरुले शुक्रबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालको हातबाट दज्र्यानी चिन्ह लगाएका छन् । उनीहरुमध्ये चन्दलाई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
हालको संरचनाअनुसार महानगरीय प्रहरी कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रशासन विभाग, मानव स्रोत विकास विभाग, कार्य्विभाग र प्रहरी महानिरीक्षकको कार्यालयमा एआइजीको दरबन्दी छ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) विनै एआइजीको दरबन्दी थप गर्दा पदस्थापनमा समस्या भएको हो । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले भने एआइजीहरूको पदस्थापन छिट्टै गरिने र कहाँ खटाउने भन्नेमा छलफल भइरहेको बताउँछन् ।
गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाउनकै लागि एआइजीको दरबन्दी थपिएको बताएका छन् । तर, कानुन नआई खटाउँदा उनीहरूलाई कानुनी अधिकार नहुने र चेन अफ कमान्डमा समस्या हुन सक्ने केही प्रहरी अधिकारीको राय छ । एआइजीलाई सातवटा प्रदेशमा खटाउँदा केन्द्रमा चारवटा विभागमा मात्र एआइजी रहने गृह मन्त्रालयका एक अधिकारीले बताए । केही एआईजीहरु प्रदेशमै खटाउनुपर्छ भन्दै लबिङमा लागेका छन् । प्रदेशमा खटाउदा प्रदेशको आईजिपी जस्तै भएर काम गर्न पाइने लोभ उनीहरुलाई छ । जागिर अवधि ८ महिना मात्र बाँकी भएकाले यो अवधिमा कमाउने लोभ पनि उनीहरुलाई छ । – दृष्टीन्यूजबाट ।


