दिल्लीबाटै योगेश भट्टराईले भने,- भारतबाट जारी हुने प्रेष्क्रिप्शन अव नेपालले मान्दैन
काठमाडौं । एमाले सचिव योगेश भट्टराईले नेपालको मामिलामा दिल्लीबाट जारी हुने प्रेष्क्रिप्शन नमान्ने उदघोष गरेका छन् । भारतमा रहेका अखिल भारत नेपाली स्वतन्त्र बिद्यार्थी युनियनले आइतवार दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले नेपाल भारत सम्बन्ध मजबुत हुनुपर्ने आवश्यकता औल्याए ।

‘नेपालले भारतसँग नाजायज सम्बन्ध खोजेको होइन, पारस्परिक हित खोजेको हो, एक अर्काको सार्वभौमसत्ताको सम्मान होस भन्ने चाहेको हो, तर नेपालीलाई दुःख दिएर, निहु खोजेर सम्बन्ध सुधार हुन्न,’ भट्टराईले भने, ‘२१ औं शताब्दीको सुपर पावर हाम्रा दुई छिमेकी भारत र चीनले थोरै पनि नकारात्मक धारणा राखे हामीलाई अगाडी बढन गाह्रो छ, थोरै पनि सकारात्मक धारणा राखे हामीलाई धेरै फाइदा हुन्छ ।’
भट्टराईले नेपाल भारतको सवै आशंका दुर गर्न तत्पर रहेपनि आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्न नसक्ने प्रष्ट पारे । ‘हामी भारतसँगको सम्बन्ध सुमधुर होस, साँच्चीकै रोटीबेटीको होस भन्ने चाहन्छ, तर हाम्रो मामिलामा दिल्लीबाट प्रेष्क्रिप्शन जारी हुन्छ भने किमार्थ मान्य हुदैन,’ भट्टराईले भने।
उनले एमाले भारतबिरुद्ध चीन र चीनबिरुद्ध भारतलाई प्रयोग गरेर अघि नबढने प्रष्ट पारे । ‘एमाले बेइजिङबिरुद्ध दिल्ली, दिल्लीबिरुद्ध बेइजिङ कार्ड खेल्न चाँहदैन, हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । दुवैसँग सम्बन्ध सुमधुर बनाउन चाहन्छौं । नेपालको बाटो नै बन्द गर्नुहुन्छ भने त्यो सम्बन्ध मान्न सकिन्न, मानिन्न,’ सचिव भट्टराईले भने ।
उनले बिगतमा गरेको नाकावन्दीले भारत निकै ठुलो समस्यामा परेको बताए । ‘आफ्नै चेलीको घरमा ग्याँसि बन्द गरिदिने, औषधी बन्द गरिदिने ? अनि केहो रोटीबेटीको नाता ? रोटी बेटीको नाता हो भने त्यो सवैभन्दा नजिकको नाता हो ? हामी त्यो नाता कायम होस भन्ने चाहन्छ, तर नाकावन्दी गरेर आफ्नै चेलीलाई समस्या पर्ने नाता रोटीबेटीको हो ?’ उनले भने ।


