‘रेणुजीले स्वाभाविक रुपमा जितेको भए म पुष्पगुच्छाले स्वागत गर्थेँ’ : देवी ज्ञवाली

भरतपुर, २३ साउन । भरतपुर महानगरपालिकाका एमालेबाट मेयरको उम्मेदवार देवी ज्ञवालीले स्वाभाविक रुपमा रेणुले चुनाव जितेको भए आफूले फूलमाला लिएर स्वागत गर्ने वताउनु भएको छ । एमाले चितवनको कार्यालयमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले निर्वाचनका आधारभूत मान्यता लत्याई जसरी पनि विजयी गराउने उद्धेश्यले रेणुलाई जिताइएको वताउनु भएको हो ।

‘स्वभाविक ढंगले रेणुजीले जितेर गएको भए सबै भन्दा पहिला फूलमाला, अविर र गुच्छा सहित स्वागत मैले गर्ने थिएँ,’ ज्ञवालीको भनाई थियो, ‘हार्ने हिसाव किताव गरेर मतपत्र च्यात्ने, राज्य सत्ताको अर्बौ रुपैयाँ चुनावकै बेला रकमान्तर गर्ने, ऐन नियम तोड्ने, यो कुरा मैले भन्नु पर्दैन, गठबन्धनका सांसद रामहरि खतिवडाले सार्वजनिक गरीसक्नुभएको छ । यो एमालेले लगाएको आरोप होइन ।’

उहाँले पदीय रुपमा हारे पनि आफूले जितेको बताउनु भयो । ‘जनताले एमालेलाई भोट दिए, मलाई भोट दिए । जनताले दिएको मतले उहाँहरुलाई चित्त बुझेन, च्यात्नुभयो र पुग्नेगरी भोट दिन पुनः चुनावको मञ्चन गरी राज्यशक्तिको दुरुपयोग गर्नुभयो’ ज्ञवालीले भन्नुभयो, ‘राजनितिमा पद जितेर पनि राजनीति हारेको हुन्छ, पदीय एउटा जिम्मा त हारें होला, तर राजनीति जितेको छु । जनताको मन मस्तिक भित्र बसेको छु, राजनीति जितेर कुर्सी मात्र गुमाएको हो ।’ उहाँले आगामी दिनमा निष्ठाकासाथ राजनीति गरेर जनताको बीचमा जाने र अब हुने प्रादेशिक र संघीय निर्वाचन दृष्टिगत गरी अघि बढ्ने बताउनुभयो ।

सर्वोच्च अदालत जाँदा आफूलाई घाटा भएको ज्ञवालीको भनाई थियो । ‘तत्कालै प्रत्यक्ष निर्वाचनमा गएको भए यो स्थिति आउने थिएन,’ उहाँले भन्नुभयो ‘सर्वोच्चमा गएपछि न्याय पाइएला भन्ने भयो । तर, उहाँहरुको लम्ब्याउने कुरामा पनि सेटिङ नै रहेछ जस्तो लागेको छ, उहाँहरुलाई समय पर्याप्त भयो, तत्काल निर्वाचनमा गएको भए यो भन्दा भिन्न परिणाम आउने थियो ।’ १९ नम्बर वडाको पुन मतदान हुनु र पूर्वप्रहरीको स्कर्टिङमा पैसा बाँड्न लगाउँदै राज्य सत्ताको दुरुपयोग गरिएको उहाँको भनाई थियो ।

मतपत्र च्यात्नेलाई नै अतिथिको रुपमा सहभागि गराइएकाले आइतबारको सपथग्रहण कार्यक्रममा नगएको एमाले नेताहरुको भनाई थियो । ‘मतपत्र च्यात्ने समेत अतिथिको रुपमा भएकाले सपथ लिन गएनौं,’ एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले भन्नुभयो, ‘आज सपथ लिनेछौं, ती मतपत्र च्यात्नेहरु सहभागी भएको कार्यक्रममा हामी जाने छैनौं ।’ १९ नम्बर वडाको मत गणनाको क्रममा माओवादीले पुन मतदानको माग गर्दै मतपत्र च्यातेको थियो । त्यस बेलासम्म ज्ञवालीको अग्रता बलियो थियो ।

पछि सर्वोच्चको आदेश अनुसार गत शुक्रबार पुन मतदातन भएको हो । मतपत्र च्यातेर पुन मतदान गराई निर्वाचन आयोगले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित भएको घोषणा गरेको थियो । – चक्रपथ अन्लाईनबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।