‘बिदेशमा भएका श्रीमानसँग राती फोनमा बोलेर सुतेका बिहान बित्नु भएपछि कसरी पत्याउनु ?’

उदयपुर । ‘राती फोनमा बोलेर सुतेका श्रीमान् बिहान बित्नुभयो भनेर खबर आउँदा कसरी पत्याउनु, खबर सुन्दा सपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो,’ विदेशमा श्रीमान् बितेको खबर पाएपछि आफूलाई लागेका कुरा सुनाउँदै हुनुहुन्थ्यो ३४ वर्षिया दुर्गा परियार ।

सप्तरीको हर्दिया ६ कि दुर्गा हिजोआज उदयपुरको त्रियुगा नगरपालिका १० मा बस्नुहुन्छ । उदयपुरमा बस्न थालेको झण्डै १५ वर्ष भयो । उदयपुर आएपछि नै हो उहाँका श्रीमान् विदेश गएको । दुर्गाका श्रीमान् चुडामणी युएई गएको २८ महिना भइसकेको थियो । गार्मेन्टको काम गर्ने चुडामणी छुट्टिमा आएर गएका थिए ।

विदेशमा भएपनि चुडामणीले सधैं फोन गर्थे । चुडामणी आफूले फोन त किनेका थिएनन्, तर काठमाडौं घर भएका नारायण भन्ने साथीकै मोवाइलबाट फोन गर्थे । दुर्गालाई श्रीमानसँग नबोली निद्रा पनि पर्दैनथ्यो । तर हिजोआज न फोन आउँछ, न त निन्द्रा नै लाग्छ ।

श्रीमान् बितेको ११ महिना भइसक्यो । कहिलेकाहीँ कसैको फोन आउँदा पनि उहाँ श्रीमानले पो फोन गरे कि भनेर झस्किनुहुन्छ । ‘मलाई श्रीमान् बित्नुभयो जस्तै लाग्दैन, त्यही भएर उहाँकै पो फोन आयो कि जस्तो लाग्छ’ दुर्गाले भन्नुभयो ।

मृत्यु कि हत्या ?
दुर्गालाई आफ्ना श्रीमान् बित्नुको कारणमाथि अझै विश्वास लागेको छैन । छुट्टिमा नेपाल आएका चुडामणी डेढ महिना बसेर फर्किए । घर बसेर फर्किएको ४ महिना मात्रै भएको थियो ।

त्यो दिन श्रीमानसँग दुर्गाले भिडियो कल गर्नुभएको थियो । ‘त्यतिबेला उहाँको अनुहार हटेर हत्केला मात्रै देखियो’ दुर्गाले अन्तिम कुराकानी सम्झिँदै भन्नुभयो ‘त्यसपछि भिडियो बन्द भयो ।’

भिडियो कलमा कुराकानी गरेको तीन दिनपछि श्रीमानको मृत्यु भएको खबर आयो दुर्गालाई । तर मृत्यु भएको चाहिँ त्यही भिडियो कल भएकै दिन हो भन्ने जानकारी आयो । १७ दिनपछि श्रीमानको शवसँगै मृत्युको कारण सहितको कागज पनि आयो ।

त्यो कागजमा चुडामणीको मृत्यु हृदयघातका कारण भएको हो भनेर लेखिएको छ । तर दुर्गालाई अहिलेसम्म यो कारणले उनको मृत्यु भएको हो भन्ने पत्यार लागेको छैन ।

उहाँले श्रीमानको साथी नारायण र शवसँगै आउने महेश नाम गरेका साथीलाई पनि सोध्नुभयो । उनीहरुको जवाफ पनि त्यही नै थियो । अहिलेसम्म मृत्युको चित्त बुझ्दो खबर नपाउदाँ दुर्गाले मन बुझाउन सक्नुभएको छैन ।

‘उनीहरु त हामीले तिमीसँग बोलेको कम्पनीले थाहा पायो भने कम्पनीमा नराम्रो हुन्छ भन्छन्,’ यसले दुर्गालाई अर्को प्रश्न उब्जिएको छ ‘कसैसँग बोल्दैमा कारवाही गर्ने नियम हुन्छ र ।’ त्यसैले अहिले पनि उहाँलाई श्रीमान् कस्तो अवस्थामा भएका बेला के भएर ज्यान गयो भन्ने कुराको चित्तबुझ्दो जवाफ चाहिएको छ ।

क्षतिपूर्तिले मान्छे भए जस्तो हुन्न रहेछ
श्रीमानको मृत्युपछि उहाँले सरकार र बीमा कम्पनीबाट साढे १० लाख रुपैयाँ पाउनुभएको छ । विदेशमा मृत्यु भएकाका परिवारले क्षतिपूर्ति पाउने कुरा पनि उहाँलाई थाहा थिएन । जिल्ला समन्वय समितिले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी) उदयपुरले सहयोग गरेपछि उहाँले क्षतिपूर्ति पाउनुभयो ।

त्यही पैसाले १८ धुर ऐलानी जग्गा लिनुभएको छ । कसैले श्रीमानले काम गर्ने कम्पनीले पनि क्षतिपूर्ति दिन्छ भन्छन्, तर त्यो सत्य हो कि होइन उहाँलाई थाहा छैन ।

छोरी दिपा १० र छोरा दिपेश ४ कक्षामा पढ्छन् । त्यसैले छोराछोरीको पढाई खर्च र घर खर्च जुटाउन अहिले उहाँ गाईघाट बजारमा टेलर चलाउनुहुन्छ । क्षतिपूर्तिले थोरै मल्हम त लगायो । तर क्षतिपूर्तिको कुरा उप्काउने बित्तिकै दुर्गा प्रश्न तेस्र्याइ हाल्नु हुन्छ, ‘मान्छे भए जस्तो हुन्छ र ।’

टेलरले दैनिकी त चलेको छ तर कसैको मृत्युको खबर सुन्ने बित्तिकै उहाँलाई ११ महिना अघिकै समयमा पु¥याउँछ । उहाँ भन्नुहुन्छ ‘केही समय अघि म यही काम गरिरहेका बेला छिमेकी मरेको कुरा सुन्दा मेरो त होस नै हराए जस्तो भएछ ।’

श्रीमानको मृत्युको चित्तबुझ्दो कारण नपाउँदा दुर्गाका दिनहरु अनुत्तरित प्रश्नहरु मनमा खेलाएरै बितिरहेका छन् । – रमा मगर/ खबर टाईम्स ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।