‘गुन्डाहरु प्रहरीको टेवुलमा खुट्टा पसारेर बस्छन्’
काठमाडौ, २५ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गुन्डाहरु प्रहरीको टेवुलमा खुट्टा पसारेर बस्ने गरेको बताएका छन् । हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी उपरीक्षकहरुलाई सोमबार निर्देशन दिने क्रममा उनले त्यस्तो बताएका हुन् ।

मन्त्री शर्माको निर्देशन उद्वृत गर्दै गृहमन्त्रालयद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,‘‘मेरो पार्टीका मान्छेले गुण्डाको संरक्षण गरेमा मलाई मान्य हुनेछैन, विभिन्न श्रेणीका गुण्डाहरु जसले प्रहरी अफिसरको टेवुलमा खुट्टा पसार्ने हर्कत गर्छन, तीनलाई कसरी तह लगाउने त्यो तपाईको हातमा छ ।’
हालै सरुवा भएका एसपीहरुलाई निर्देशन दिदै उनले यस्तो बताएका हुन् । उनले प्रहरी उपरिक्षहरुलाई व्यवहारीक बन्न आग्रह गर्दै मन्त्रि शर्माले कानुन देखाएर पन्छने काम नगर्न समेत दिर्नेशन दिए । ‘नाकाहरुमा लाईन र सेटिङ छन् रे, त्यो बन्द हुनुपर्छ ।
सेटिङमा प्रहरीको मिलेमतो हुनेगरेको आरोप छ, त्यसलाई तपाईहरुले व्यवहारबाट खण्डन गर्नुपर्छ ।’ जिल्लाहरुमा गिट्टी, ढुंगा र काठको अवैध ब्यापार बन्द गर्न उनले निर्देशन दिए ।
प्रहरी कर्मचारीहरुलको कार्य सम्पादन मुल्यांकन गोप्य रुपमा राखिने परम्पराको अन्त्य गर्ने उद्घोष गर्दै मन्त्री शर्माले ३० बर्षे सेवा अवधी विवादबाट मुक्त गर्दा वृत्ति विकासमा ध्यान दिईने बताए । दृष्टीन्यूजबाट ।


