एमाले र माओवादीसँग ‘पद’ माग्दै रामचन्द्र झा : देवेन्द्र पौडेलसहितका नेता नयाँ शक्ति छाड्दै
काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीका केही शिर्ष नेताले पार्टी परित्याग गर्ने भएका छन् ।
माओवादीबाट नयाँ शक्तिमा गएका देवेन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय तहका अन्य नेताहरुले पनि पार्टी परित्याग गर्न लागेका हुन् ।

पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले नयाँ शक्ति छाड्न लागेका हुन् ।
आज (बिहीवार) दिउँसो ३ बजे बागबजार स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी छोडेको घोषणा गर्ने जनाइएको छ ।
भट्टराई नेतृत्वको नयाँ शक्तिमा केन्द्रीय कार्यकारी समिति विघटन गरिएपछि तीब्र असन्तुष्टि चुलिएको थियो । खासगरी तत्कालिन माओवादीबाट नयाँ शक्तिमा गएका नेताहरुले केन्द्रीय कार्यकारी समिति विघटनको विरोध गर्दै आएका छन् ।
माओवादीबाट नयाँशक्तिमा गएका अधिकांश नेता पुनः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमै फिर्ता हुन लागेका जनाइको छ ।
एमाले र माओवादीसँग ‘पद’ माग्दै रामचन्द्र झा
नेकपा एमाले परित्याग गरेर तत्कालिन एकीकृत नेकपा माओवादी हुँदै बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागेका रामचन्द्र झाले बाबुरामको साथ छाडिसकेको घोषणा गरेका छन् ।
विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै झाले नयाँ शक्ति छाडेको घोषणा त गरिसकेका छन् । तर उनी आफ्नो पुरानो घर (नेकपा एमाले)मा जाने कि नेकपा माओवादी केन्द्रमा जाने भनेर अझै पनि निर्णयमा पुग्न सकेका छैनन् ।
करिव एक साता अघि नै नयाँ शक्तिका संयोजक भट्टराईलाई पार्टी छाडेको जानकारी गराउने झा एमाले र माओवादीका अनेक नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
नेता झा एमालेमा प्रवेश गर्ने भन्ने हल्ला चलिरहेका बेला बिहीवार उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवासमा लाजिम्पाट पुगेका छन् ।
प्रचण्डको निवास लाजिम्पाटमा उनले अध्यक्ष प्रचण्डसँगै माओवादीका शीर्ष नेता रामबहादुर थापा ‘वादल’ र गृहमन्त्री समेत रहेका प्रभावशाली नेता जनार्दन शर्मासँग छलफल गरेका जनाइएको छ ।
झाले केही दिन अगाडि एमालेका दोस्रो तहका नेताहरुसँग पनि छलफल गरेका थिए । जसमा उनले ‘राम्रो पद’ पाए आफू एमालेमा फर्किन तयार भएको भनेर प्रतिबद्धता जनाएको एक एमाले नेताले लोकान्तरलाई बताए ।


