धरान-भेडेटार सडकखण्ड पहिरोसँगै सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध

धरान- दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

शनिबार बिहान करिब ४ बजेतिर धरान भेडेटार सडकखण्डमा पर्ने निसाने खोला नजिक पहिरोसँगै सडक बगेपछि कोशी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि कोशी पहाडी जिल्लाको तराईसँगको सवारी सम्पर्क टुटेको छ । सडक भत्किएर मान्छे ओहोर दोहोर गर्न पनि सम्भव नभएपछि सवारीसाधान र यात्रुहरु अलपत्र परेका छन् । करिब डेढ बर्ष अघिदेखि नै सो स्थान जोखिमपुर्ण भएपनि सडक विभाग र उसको मातहतको कार्यालयले समयमै मर्मतसम्भारमा ध्यान नदिदा ठूलो क्षति हुन पुगेको भन्दै स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु भने आक्रोशित छन्। सडक डिभिजन कार्यालय विराटनगरले भने मर्मतको लागि ठेक्का लागेपनि बर्षातले काम गर्न नदिएको भन्दै पन्छिएको छ।

संखुवासभाबाट इटहरी फर्कदै गरेका ना.७ ख. ११५८ नम्बरको ट्रक चालक हरि कटवालका अनुसार उनी बिहान ५ बजे आइपुग्दा पहिरोले सडक बगाइसकेको थियो। पोहोर सालमै सडकको आधा भाग पहिरोले लगेपनि सडक विभागले मर्मत नगर्दा अहिले सडक बन्द भएको भन्दै उनले आक्रोश पोखे । ‘यो अहिले भर्खर पहिरोले लगेको होइन, पोहोर साल आधा सडक खसिसकेको थियो, तर यहाँ खतराको संकेत मात्र राखियो । समयमै बनाउन ध्यान नदिदा आज पुरै बाटो गयो,’ चालक कटवालले भने,‘सडक विभागको लापरवाहीले गर्दा नै यो अवस्था भएको हो, किन समयमै बनाइएन ?’

धरान १५ घर भएका यातायात व्यावसायी राजन खड्काले पनि ठूलो क्षति हुने जोखिम देख्दा देख्दै पनि सम्बन्धित निकाय(सडक विभाग)ले सडक नबनाउदा जनता, व्यावसायी, किसान सबैले दुःख पाएको बताए। ‘यो त एक, डेढ बर्षअघि नै आधा भत्किएको सडक थियो, अहिलेसम्म नबनाउनु भनेको लापरवाही नै हो। जनता, किसान, यातयात व्यावसायी सबै मारमा पर्यौं,’उनले भने। पहिरोले सडक बगाएको स्थानमा करिब डेढ बर्षअघि नै सडक आधा भासिएको थियो। सडक डिभिजन कार्यालयले दुवैतर्फ खतराको संकेत राखेर एकतर्फी आवागमन गराउनुबाहेक अन्य काम भने गरेको थिएन। – रोहित राई / नागरिक न्यूज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖