मेरो सोचलाई हावामा उडाउनेहरूलाई म भन्छु, बिजुली हेर्न मुस्ताङ आउनुहोस् : ओली
काठमाडौं, २९ साउन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको शनिबार मुस्ताङको जोमसोममा हावाबाट ३ किलोवाट बिजुली उत्पादन गरिरहेको परियोजनाको उद्घाटन गर्नुभयो । त्यसको अवसर जुरायो स्पेनिस र नेपाली संयुक्त लगानीको बुद्ध पावर लिमिटेडले, जसका अध्यक्ष हुनुहुन्छ – स्पेनिस नागरिक भिनास पीच र निर्देशक हुनुहुन्छ– नेपाली नागरिक पुष्कर तिमल्सिना । कम्पनीले शुक्रबार नै ओलीमार्फत नै यो परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्यो ।

२०७२ मा प्रधानमन्त्री भएका बेला ओलीको एउटा महत्वपूर्ण एजेन्डा मुलुकलाई अँध्यारोबाट मुक्त गर्नेथियो, त्यस अनुरूप जलश्रोत लगायत उर्जाका सबै वैकल्पिक उपायमा जानुपर्ने उहाँले बताउनुभएको थियो । त्यस क्रममा उहाँले शौर्य उर्जा र वायु उर्जाको समेत विकल्प अघि सार्दै त्यसको सम्भाव्यता अध्ययन र लगानीका लागि सार्वजनिक आव्हान गर्नुभएको थियो ।
‘उहाँको त्यो सोच र आव्हानपछि हामीले मुस्ताङको जोमसोममा हावाबाट ३ किलोवाट बिजुली निकाल्यौँ’ बुद्ध पावरका तिमल्सिनाले आइतबार चक्रपथ डटकमलाई भन्नुभयो,‘त्यसैले हामीले उहाँलाई नै उद्घाटन गर्न र उहाँमार्फत नै सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्यौँ, हाम्रो आग्रहलाई स्विकार गरिदिनुभयो, हामी थप उत्साहित भएका छौं ।’
राजधानीमा भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग राजनीतिक दलका बाक्ला बार्ता भइरहेका बेला र भारतीय दूतावासले स्वतन्त्रता दिवस पूर्वनै दूतावास परिसरमै सबै दलका मुख्य नेतालाई वोलाएर रात्रीभोज दिइरहेका बेला ओली भने आफ्नो सोचले मुर्तरुप पाएको कामको उद्घाटन गर्न पोखरा लाग्दै हुनुहुन्थ्यो । भारतीय दूतावासले शुक्रवार साँझ आयोजना गरेको रात्रीभोज गरेको थियो, जवकी पूर्वप्रधानमन्त्री ओली पुर्व निर्धारित कार्यक्रम अनुसार नै अपराह् ३.४० मै पोखरा प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री भएका बेला नेपालको सम्बृद्धि र विकासका लागि प्रष्ट मार्गभित्र अघि सार्नुभएका ओलीले जोमसोमको उक्त ‘हाइब्रिड’ (उन्नत वायु र शौर्य उर्जा उपकरणसहितको) परियोजनाको शनिबार उद्घाटन गर्दै भन्नुभयो,‘ मेरो भनाइलाई हावाबाट उडाउनेहरूलाई हावाबाट बिजुली उत्पादन हेर्न यहाँ आउन अनुरोध गर्छु ।’ बुद्ध पावरले नमुना परियोजनाका अनुरूप उत्पादन गरेको उक्त बिजुली मुस्ताङ जिल्ला प्रहरीले प्रयोग गरिरहेको छ । ओलीले परियोजना पनि प्रहरी परिसरबाट स्विच अन गरेर गर्नुभयो ।
‘मेरो प्रधानमन्त्रीत्व कालमा मैले कहिल्यै असम्भव कुरा गरिन । कसैले बुझेनन्, कसैले बुझ पचाए, कसैले हावामा उडाए’ ओलीले भन्नुभयो,‘हावाबाट बिजुली बल्छ भनेको थिएँ, बल्यो त । यो सम्भव थियो र भयो ।’ उहाँले मुस्ताङमात्र नभएर नवलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली बलेर प्रमाणित भइसकेको बताउनुभयो । बुद्ध पावरका अध्यक्ष भिनास पीचबाट मुस्ताङमै वायु उर्जाबाट ४० मेगावट बिजुली उत्पादन गर्न सकिने जानकारी पाएपछि त्यसलाई पनि अघि बढाउनुपर्छ भनेर आफूले पहल गरेको स्मरण समेत उहाँले गर्नुभयो । तिमल्सिनाका अनुसार, नेपाल सरकारले अनुमति दिएमा तत्कालै ४० मेगावट बिजुली उत्पादन परियोजना अघि बढाउने बताउनुभयो । करिब ७ अर्व नेपाली रुपैया लाग्ने यो मेगा परियोजनामा स्थानीय को समेत साझेदारी होस भन्ने अपेक्षा कम्पनीको छ । अध्यक्ष ओलीले प्राकृतिक स्रोतको दोहन र उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने सोच आफूले सधैं राख्दै आएको र त्यसै सोचलाई कार्यक्रममार्फत नै व्यक्त गरेको बताउनुभयो ।
त्यसो त अध्यक्ष ओली जोमसोमको उक्त नमुना वायु उर्जा परियोजनाको उद्घाटन र हस्तान्तरणमा मात्र पनि सिमित हुनुभएन । नेपाललाई आत्मनिर्भर बनाउने सोच राखेर चीनसँग पनि पारवहन तथा यातायात सम्झौता गर्नुभएका उहाँले नेपाल र चीनका मुख्य नाकाहरूलाई खुलाउन तथा सुचारु गराउने कार्यको पनि नेतृत्व लिनुभएको छ । त्यसै अनुरूप वायु उर्जा प्रविधिको उद्घाटन गर्नुअघि अध्यक्ष ओली चीनको सीमा नाका कोरला पासको निरीक्षण गरेर फर्कनुभएको थियो ।
हालै तिब्बतको भ्रमण गरेर फर्किनुभएका उहाँले तिब्बती सरकारका अधिकारीसँग नेपाल र चीन बीचको व्यापार बिस्तार गर्नुपर्ने र त्यसका लागि सीमा नाकाहरूलाई खुला गर्नुपर्नेमा छलफल गर्नुभएको थियो । ‘हाम्रो तर्फ र चीनतर्फ पनि सडक बनिरहेका छन् । सडक निर्माण पुरा हुने बित्तिकै कोरला नाका दिर्घकालिन रुपमै खुल्छ’ उहाँले भन्नुभयो । – चक्रपथबाट


