कांग्रेसले स्थानीय देखि संघीय चुनाव नजिते मुलुक २५ बर्ष पछाडि पर्छ : नेता गिरी

सिरहा, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीयदेखि संघीय चुनावमा कांग्रेसले नजिते मुलुक २५ बर्ष पछाडि पर्ने बताएका छन् ।

सिरहा नगरपालिकामा शुक्रबार आयोजित चुनावीसभामा गिरीले भने, ‘ओली राष्ट्रवादलाई निरुत्साहित गर्दै कांग्रेसलाई जिताउन मतदान नगरे मतदाताले पछुताउनुपर्नेछ ।’

देशका सबै नागरिकको भावना र अवधारणा लिएर का‌ंग्रेस अगाडि बढेको भन्दै गिरीले यसपटक कांग्रेसलाई मतदान गर्न मतदाता चुकेमा २५ वर्ष झुल्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस् देशको चौतर्फी विकास अवश्य हुन्छ ।’ एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै गिरीले मधेस जलिरहेको बेला एमाले नेताहरुको अभिव्यक्ति उत्तेजक र मनस्थिति भड्काउने किसिमको भएको बताए ।

‘मधेसमा अधिकारको आन्दोलन चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्ष्य गर्दै समथर भूभाग चाहिए बिहार र संविधान संशोधन चाहिए लखनउ गए हुन्छ, रुखबाट दुई–चार आँप झर्दैमा केही फरक नपर्ने अभिव्यक्ति दिएर जनतालाई अपमान गरेका थिए’ गिरीले भने ‘यस्तो पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन् ?’

गिरीले दसगजाको भूमिमा हिन्दूस्तान क्षेत्रबाट केही भयो भने मधेसी र उत्तरी सीमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने गरेको र देशका लागि रक्षाकवचको रुपमा रहेका मधेसीलाई दोस्रो दर्जाको नागरिक भन्नु उचित नहुने बताए । उनले दोधारे कुरा गरेर जनताले शान्तिको साटो सास्ती मात्र पाउने बताए।

‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन । पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्छ’, गिरीले भने, ‘कहिले भारत त कहिले मधेसीलाई गाली गर्दै आफूलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो होइन ।’

गिरीको प्रश्न थियो, ‘आफ्नै देशका नागरिकमाथि जबरजस्ती शंका गर्नु, गिज्याउनु र बिहारी भन्नु कस्तो राष्ट्रवाद हो ?’ ‘यस्तो दोधारे राष्ट्रवाद कांग्रेसामु चल्दैन । कांग्रेस हिमाली, पहाडी र मधेशी सबैलाई मिलाएर चल्न चाहन्छ ।’

मधेसका क्षेत्रीय पार्टीलाई संकेत गर्दै गिरीले स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टी जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुने बताए । माओवादीले कांग्रेसको साथ र सहयोगविना कुनै काम गर्न नसक्ने ठोकुवा गर्दैै एमालेको शब्दजालको भ्रममा नपर्न मतदातालाई गिरीले आग्रह गरे ।

एमालेको विरोधले संविधान संशोधन नभएको स्पस्ट पार्दै गिरीले भने, ‘गुर (सख्खर) दिन नसक्नेले गुर जस्तो मिठो बोली बोल्नुपर्थ्यो । त्यो पनि नगरेर मधेसीको अपमान हुने गरी ओलीले उखान टुक्का मात्र राखिरहनुभयो यसले मधेसी जनताको ठूलो चित्त दुखाइ छ ।’

कांग्रेसका मधेस भेगका नेताहरुले संसद्‍ले समेत आवाज उठाएको प्रसंग उठाउँदै गिरीले भने, ‘मैले पनि संसद् बहिष्कार गरें । मधेसको माग पूरा नभए यो संविधान नचल्न पनि सक्छ, भन्ने मेरो जिकिर थियो ।’

गिरीले कांग्रेसले पूर्ण बहुमत पाएमा भाषा, संस्कृतिक र नागरिक तालगायतका सबै खाले माग कांग्रेसले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माओवादीसँग चुनावी तालमेल भएको तर, सिरहा नगरपालिका कांग्रेसको भागमा परेको हुँदा पार्टीका उम्मेदवार डा. सुभाषचन्द्र यादवसहित सम्पूर्ण सदस्यदले निर्वाचन जित्ने दाबी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।