सुनसरीमा ५ लाख ६० हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान र मोटरसाइकल बरामद
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ५ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा र एउटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति करिब १२ः४५ बजे देवानगञ्ज गाउँपालिका–७ तिनमुहानमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकललाई देखेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकले भन्सार छली गरी ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले अन्दाजी ५ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको जनाएको छ।
फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


