मोरङको रतुवामाईमा ५०० ग्राम खैरो हेरोइन र पेस्तोल सहित तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई जना घाइते
मोरङ । मोरङको रतुवामाईमा ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्। उनीहरूमध्ये दुई जना प्रहरीको गोली लागेर घाइते भएका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका अनुसार भारतमा बसेर नेपालमा लागूऔषध आपूर्ति गर्ने गिरोहको लामो समयदेखि निगरानी गर्ने क्रममा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।
ब्यूरोका अनुसार भारतको अररियाबाट मोरङको रतुवामाई नगरपालिका–६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई रोकेर जाँच गर्ने क्रममा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेका थिए।
त्यसपछि प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गर्दा पनि पेस्तोल ताक्न नछाडेपछि दीपकलाई बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकलाई दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली प्रहार गरिएको ब्यूरोले जनाएको छ।
प्रहरीले उनीहरूसँगै मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुरलाई पनि नियन्त्रणमा लिएको छ।
खानतलासीका क्रममा दीपकको साथबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको छ। साथै दुई थान मोटरसाइकल र तीन थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ।
गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ। पक्राउ परेका योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार पक्राउ परेका योगेन्द्र ठाकुर शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति हुन्।
घटनाबारे लागूऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान भइरहेको जनाएको छ।


